महिनौं लामो सुस्ततापछि बलिउड चलमलाउन थालेको छ। धमाधम फिल्महरु छायांकन भइरहेका छन्।
सन् २०२१ मा दर्जनौं फिल्म सार्वजनिक हुनेवाला छन्। आर्थिक रुपमै धरासयी भएको बलिउडको व्यापार कस्तो होला र यस वर्ष कुन कलाकारका फिल्मले कस्तो व्यापार गर्ला भनेर अनेकौं अनुमान सुरु भएका छन्।
यसै सन्दर्भमा सन् २०२१ मा बलिउडमा कसले ‘राज’ गर्लान् त? भन्ने विषयमा बलिउड हंगामाले रिपोर्ट तयार पारेको छ, जसमा फिल्म प्रदर्शक टोलीले आ-आफ्नै अनुमान र तर्क गरेका छन्।
बलिउड फिल्म विश्लेषक अतुल मोहन पाँच अभिनेताको नाम लिन्छन् जसले सन् २०२१ मा बलिउडमा राज गर्ने विश्वास राखेका छन्। अतुलले बलिउड हंगामालाई भनेका छन्, ‘सलमान खान, आमिर खान, अक्षय कुमार, ऋतिक रोशन र अजय देवगणले सन् २०२१ मा राम्रो प्रस्तुति दिने अपेक्षा छ।’
योसँगै कुन-कुन अभिनेत्री सन् २०२१ मा चर्चामा आउँनेछन् भन्ने प्रश्नमा उनले भनेका छन्, ‘दिपिका पादुकोण।’ उनी हेमा मालिनी, श्रीदेवी, माधुरी दीक्षित, ऐश्वर्या राय बच्चनजस्ता अभिनेत्री नयाँ पुस्तामा कमै भएको बताउँछन्। फिल्म विश्लेषक अतुलका अनुसार अक्षय कुमारको नयाँ ७ फिल्मको काम भइरहेको छ। उनले आमिर खानको ‘लाल सिंह चड्ढा’ले भारु ४ सय करोडको आम्दानी गर्ने आशा राखेका छन्।
उनी रणवीर सिंहको ‘८३’, ‘सूर्यवंशी’, ‘जयसभाइ जोरदार’ र ‘सरकस’ले पनि राम्रो कमाइ गर्ने विश्वास राख्छन्। रणवीर कपुरको फिल्म ‘ब्रह्यमास्त्र’ र ‘शमशेर’ले पनि यो साल व्यापक चर्चा कमाउने अतुल विश्वास राख्छन्। अर्का फिल्म विश्लेषक तरण आदर्श यी दुई अभिनेताले नयाँ पुस्ता लक्षित फिल्म बनाएर बलिउडलाई योगदान पुर्याउने आशा व्यक्त गर्छन्।
सन् २०२१ मा कुन अभिनेता उत्कृष्टमा आउँलान् भन्ने प्रश्नमा उनले बलिउड हंगामालाई भनेका छन्, ‘अक्षय कुमार, आमिर खान, सलमान खान, साहरुख खान र अजय देवगनले सन् २०२१ मा बलिउडमा तहल्का मचाउनेछन्। नयाँ पुस्तामा रणवीर कपुर र रनवीर सिंहले बलिउडमा राज गर्नेछन्,’ उनले थप भनेका छन्, ‘जोन अब्राहम र साहिद कपुरको फिल्मले पनि बलिउडमा राम्रो स्थान पाउँनेछ। उनीहरू फिल्ममा आउन थाले भने फर्केर हेर्ने बाटै हुँदैन।’
यसर्थ भारतीय सञ्चार माध्यम बलिउड हंगामाको रिपोर्ट अनुसार सन् २०२१ मा बलिउडमा अक्षय कुमार, आमिर खान, सलमान खान, साहरुख खान, ऋतिक रोशन, अजय देवगन, रणवीर कपुर र रनवीर सिंहले राज गर्नेछन्।