बलिउड अभिनेता अमिताभ बच्चन माइनस ३३ डिग्री तापक्रम रहेको लद्दाख पुगेका छन्। ७८ वर्षीय अमिताभले बुधबार आफ्नो ट्विटरमा तस्बिर सार्वजनिक गर्दै उक्त कुरा खुलाएको भारतीय अखबार डिएनएले जनाएको छ।
अमिताभले चिसो मौसममा लगाइने बाक्लो कपडा र चस्मा लगाएको फोटो सेयर गर्दै ट्विट गरेका हुन्। जसमा लेखेका छन्, ‘लद्दाख पुगेँ र फर्की पनि सकेँ। माइनस ३३ डिग्री। यसले मलाई चिसोबाट बचाउन सकेन।’
भारतीय चर्चित कार्यक्रम ‘को बन्छ करोडपति’का संचालकसमेत रहेका अमिताभको उक्त ट्विटमा उनका धेरै शुभचिन्तक र ट्विटर प्रयोगकर्ताले प्रतिक्रिया जनाएका छन्। हालै कोरोना संक्रमित भएर निको भएका अमिताभलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्दै उनका प्रशंसकहरूले सुझावसमेत दिएका छन्।
७८ वर्षको उमेरमा समेत उर्जा देखाएको भन्दै धेरैले उनको प्रशंसा गरेका छन्। एक प्रशंसकले भनेका छन्, ‘प्रिय अमिताभजी, तपाईं कुनै पनि युवाले गर्ने बढी काम गर्नुहुन्छ। मलाई खुशी लाग्छ कि तपाईं यस्तो चर्चामा हुनुहुन्छ। हामी तपाईंलाई माया गर्छौं। तर कृपया आफ्नो स्वास्थको पनि ख्याल राख्नुहोला। हामीलाई तपाईंको खाँचो छ। धेरै मायासहित।’
केहीले भने यो उमेरमा आएर अझै कामको पछि नलाग्न सल्लाह दिएका छन्। भनेका छन्, ‘तपाईंले चाहिने पैसा कमाइसक्नु भएको छ। आफ्नो जीवनभन्दा ठूलो केही छैन। त्यसैले अबबाट यस्तो साहसको काम नगर्नु होला।’
प्रशस्तै शुभचिन्तक र प्रशंसक कमाएका अमिताभ उनीहरुलाई सामाजिक सञ्जालबाट आफ्नो स्वास्थ र कामबारे जानकारी गराइरहन्छन्।