बलिउड अभिनेता ऋतिक रोशन आइतबारदेखि ४७ वर्ष लागेका छन्। जन्मदिन अवसरमा ऋतिकलाई उनको साथीभाइ, फ्यान-फलोअर्स, सेलिब्रेटी र फिल्म क्षेत्रका हरेकले जन्मदिनको शुभकामना दिएका छन्।
तीमध्ये ऋतिकलाई उनको भूतपूर्व श्रीमती सुजेन खानले दिएको जन्मदिन शुभकामनाबारे भारतीय संचारमाध्यमहरूमा चर्चा छ। पिंकभिल्लाका अनुसार, सुजेनले आफ्नो इन्स्टाग्राममा ऋतिक र उनीहरूको दुई छोरा, रिहान र रिधनको भिडिओ पोष्ट गर्दै ऋतिकलाई जन्मदिनको शुभकामना दिएकी हुन्।
सुजेनलले पोष्ट गरेको भिडिओमा ऋतिकले आफ्नो दुई छोराहरूसँग विभिन्न ठाउँमा बिताएको पलहरू सम्झना गरेकी छन्। ऋतिकलाई संसारको सबैभन्दा राम्रो बुवा भन्दै भिडिओसँगै सुजेनले क्यापसनमा लेखेकी छन्, ‘जन्मदिनको धेरैभन्दा धेरै शुभकामना राय। आगामी दिनहरू सधैं राम्रो र सुखद रहोस् भन्ने कामना गर्छु। सन् २०२१ सार्थक बनोस्।’
सुजेनले ऋतिकलाई 'राय' भन्ने गरेकी छन्। योसँगै सुजेनले ह्यासट्यागसहित लेखेकी छन्, ‘बेस्ट ड्याड इन द वर्ल्ड, लभ।’
ऋतिक र सुजेनको बैवाहिक सम्बन्ध सन् २०१४ मा टुटेको थियो। सुजेनले ऋतिकसँग ठूलो धनराशी दाबी गर्दै अदालतमा 'डिर्भोस' केस फाइल गरेपछि उनीहरुको सम्बन्ध प्रक्रियागत रुपमै टुंगिएको थियो।
त्यसबेला सुजेनले ऋतिकको 'लभ अफेअर'बाट वाक्क भएर डिभोर्स मागेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए। डिभोर्सपछि उनीहरूको दुई छोरा सुजेनसँग बस्ने भए। तर डिभोर्स भएको दुई वर्षपछि ऋतिक र सुजेनबीच पुनः राम्रो सम्बन्ध विकास भइरहेको समेत चर्चा छ।