गत शनिबार बलिउड अभिनेता अमिताभ बच्चनको ट्विटरमा ४ करोड ५० लाख फलोअर्स पुगेको छ। यसै सन्दर्भमा ७८ वर्षीय अमिताभले नयाँ ट्विट गरेका छन्। उनले ‘थ्रो-ब्याक’ फोटो सेयर गर्दै ३८ वर्ष अघिको घटना सम्झेका छन्, जुनबेला उनले पहिलो पटक आफ्नो बुवालाई रोएको देखेका थिए।
अमिताभले सेयर गरेको फोटोमा उनी, उनका बुवा कवि हरिवंश राय बच्चन र आफ्नो छोरा अभिषेक बच्चन छन्। अभिषेक त्योबेला सानो थिए र उनले आफ्नो हजुरबुवा हरिवंशलाई हेरिरहेका छन्।
सन् १९८२ मा अमिताभ फिल्म ‘कुल्ली’को छायांकनक्रममा बैङ्लोरमा थिए। मनमोहन देसाई र प्रयाग रायले निर्देशन गरेको ‘कुल्ली’को सेटमा हुँदा एउटा ‘एक्सन सिन’ का क्रममा अमिताभ दुर्घटनामा परे। सो दुर्घटनाले उनलाई मृत्युको मुखमै पुर्याइसकेको थियो। दुर्घटनालगत्तै अस्पताल भर्ना गरिएका अमिताभलाई निको हुन महिनौं लागेको थियो।
अमिताभले सोही दुर्घटनापश्तात् स्वस्थ भएर अस्पतालबाट घर फर्केपछि परिवारसँग भेट्ने बेलाको फोटो शनिबार सेयर गरेका हुन्। यो ट्विट अमिताभको ३ हजार ७ सय ७७ औं ट्विट हो। ट्विट सुरु गर्नुअघि लेखेका छन्, टी ३७७७।
'यो फोटोले धेरै कुरा बोल्छ। 'कुल्ली' फिल्म छायांकनका बेला भएको दुर्घटनापछि म बल्लतल्ल बाँचेर घर पुगेको थिएँ। त्यो दिन पहिलो पटक मैले बुवालाई रोएको देखेँ। छेउमा अभिषेक चिन्तित देखिन्छन्। हेर्नुस् त!,’ अमिताभले लेखेका छन्।
अमिताभले फोटोमै लेखेका छन्, '४५ मिलियन मेरो पूजनीय माता र पूज्य बुबाको आशीर्वादबाट सुरु भयो।’
अमिताभका बुवा हरिवंश राय बच्चन प्रतिष्ठित कवि हुन्। १८ वर्षअघि ९५ वर्षको उमेरमा जनवरी महिनामै निधन भएको थियो।
बलिउड अभिनेता अमिताभ बच्चन सामाजिक सञ्जालमा सक्रिय कलाकारमध्ये पर्छन्। उनले आफ्नो काम र स्वास्थबारे ट्विटर र अन्य माध्यमबाट आफ्नो शुभ चिन्तकहरूलाई अपडेट गराइ राख्छन्।