अभिनेत्री प्रियंका चोपडाले अमेरिकी उप-राष्ट्रपति निर्वाचित कमला ह्यारिसको ‘भोग म्यागेजिन’ कभर सेयर गरेकी छन्। उनले आफ्नो इन्स्टाग्राममा आउँदो फेबुअरी २०२१ को भोग म्यागजिनको कभर सेयर गरेकी हुन्।
इन्स्टाग्राम पोस्ट मार्फत प्रियंकाले अमेरिकामा छिट्टै पहिलो महिला उप-राष्ट्रपति हुने विषयमा खुसी व्यक्त गरेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले लेखेको छ।
प्रियंका अमेरिकी भोग म्यागजिनको कभर पेजमा स्थान पाउने पहिलो भारतीय हुन्। यो सन् २०१८ को कुरा हो। अब भने एक ‘भारतीय महिला’ भोग कभर पेजमा मात्र होइन ह्वाइट हाउस नै प्रवेश गर्दैछिन्। यसमा प्रियंकाले कमला ह्यारिसमाथि गर्व गरेकी छिन्।
इन्स्टाग्राममा पोस्ट सेयर गर्दै प्रियंकाले लेखेकी छन्, ‘वासिङटन डिसीको क्यापिटल हिलमा यो हप्ताको घटनापछि अबको १० दिनमा अमेरिकाको नेतृत्व सकारात्मक सोच भएका उत्तराधिकारीहरूको हातमा पर्नेछ।’ गत साता क्यापिटल हिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा चुनिएका जो बाइडेनका समर्थकबीच झडप भएको थियो। जसमा कयौं घाइते भए र केही मान्छेको ज्यानसमेत गएको थियो।
प्रियंकाले यही घटनाबाट आफ्नो भनाइ सुरु गरेकी हुन्। प्रियंकाले लेखकी छन्, ‘एक महिला! वर्णकी महिला! एक भारतीय महिला! कालो वर्णकी एक महिला! एक महिला जसको अभिभावक अमेरिका बाहिर जन्मिए!’
कमला उप-राष्ट्रपति निर्वाचित हुनु निकै विशेष कुरा भएको भन्दै प्रियंकाले आफ्नो खुसी शब्द मार्फत व्यक्त गरेकी हुन्।
‘विश्वका थुप्रै देशमा महिलाले नेतृत्व गरेका छन्। तर भारतबाट आएर अमेरिकाको पहिलो महिला उप-राष्ट्रपति बन्दैछिन् कमला ह्यारिस। यो निकै गर्वको कुरा हो! तर पक्कै यो नै अन्तिम हुने छैन,’ प्रियंकाले लेखेकी छिन्।
भोग म्यागजिनको कभरका लागि कमलाको फोटोको विषयमा आलोचना पनि भइरहेको छ। भोगले उनको फोटोमा चाहिनेभन्दा बढी सम्पादन गरेको र उनको छालाको रंग नै परिवर्तन गरेको भन्दै पत्रिकाका सम्पादक र टोलीको आलोचना भइरहेको हो।
अमेरिकामा ४६ औं राष्ट्रपतिका रूपमा जो बाइडेन चुनिएका छन्। यो जितसँगै डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी हुन्।