भारतीय निर्देशक रामगोपाल वर्मासँग ३२ फिल्म युनियनले काम नगर्ने घोषणा गरेका छन्। पिंकभिल्लाका अनुसार, 'फेडरेसन अफ वेस्टर्न सिने इम्प्लोय', 'एफडब्लुआइसिई'ले उनीसँग काम नगर्ने निर्णय गरेको हो।
दर्जनौं हिन्दी, तेलुगू र कन्नड भाषाका फिल्म निर्देशन गरेका रामगोपालले आफ्नो फिल्मको प्राविधिक टोली एवम् कामदारलाई पारिश्रमिक नदिएको आरोप लागेको छ। उनले भारु १ करोड २५ लाख पैसा कामदारलाई नदिएको हुनाले फेडरेसनले सो निर्णय लिएको हो।
फेडरेसनका अध्यक्ष बिएन तिवारीका अनुसार, महासचिव अशोक दुबे, कोषाध्यक्ष गंगेश्वरलाल श्रीवास्तव र निर्देशक रामगोपाल वर्माले यसबारे कानुनी सूचना प्राप्त भइसकेको छ। निर्देशक रामगोपाल वर्माले उक्त सूचनामाथि कुनै प्रतिक्रिया नजनाएको र बाँकी शुल्क पनि बुझाएका छैनन्।
निर्देशक रामगोपाललाई फेडरेसनले सेप्टेम्बर १७, २०२० मा पत्रचार गरेको थियो। जसमा सम्पूर्ण प्राविधिक टोलीको बाँकी रकम बुझाउन आदेश जारी गरिएको थियो। योभन्दा अघि पनि फेडरेसनले पटक-पटक पत्राचार गरेको थियो। तर रामगोपाल ती पत्र आफूले नपाएको बताएको पिंकभिल्लाले लेखेको छ।
रामगोपाल कोरोना महामारी समय फिल्म छायांकनका लागि गोवा पुगेका थिए। 'यस सम्बन्धमा हामीले सेप्टेम्बर १०, २०२० मा गोवाका मुख्यमन्त्रीलाई पत्र पनि पठाएका थियौं।
हामी रामगोपाल वर्माले सम्पूर्ण प्राविधिक टोली, कलाकार र कामदारहरूको बाँकी रकम बुझाओस् भन्ने चाहन्छौं,' फेडरेसनका अध्यक्ष बिएन तिवारीले भनेका छन्, 'तर उनले यसो गरेनन्। त्यसैले हामीले भविष्यमा उनीसँग काम नगर्ने निर्णय गरेका छौं। हामीले यसबारे भारतीय मोसन पिक्चर्स प्रोड्युसर एसोसिएसन (आइएमपिपिए) र प्रड्युसर्स गिल्ड अफ इन्डियालाई सूचित गरेका छौं।'
निर्देशक रामगोपालले सन् १९९८ मा फिल्म 'सत्या', सन् २००० मा 'जंगल', सन् २००२ 'कम्पनी', र सन् २००३ 'भूत'को लागि उत्कृष्ट निर्देशनको अवार्ड जितेका छन्।
तेलेगू फिल्म निर्देशनबाट सुरु गरेका उनी अहिले हिन्दी र कन्नड भाषामा पनि फिल्म निर्देशन गर्दैछन्।