बलिउड अभिनेत्री ऋचा चड्ढा अभिनित नयाँ फिल्म ‘म्याडेम चिफ मिनिस्टर’को पोष्टरले मिश्रित प्रतिक्रिया पाइरहेको छ। गत हप्ता सार्वजनिक फिल्मको पोष्टरमा अभिनेत्री ऋचा ‘बोल्ड लुक्स’मा देखिएकी छन। पोष्टरमा उनले हातमा सडक बढार्न प्रयोग गरिने लामो खालको झाडु समाएकी छन्।
यसै विषयलाई लिएर भारतमा विवाद र फिल्म टोलीको आलोचना भइरहेको छ। उक्त विषयमा बेलायती समाचार वेभसाइट ‘द गार्डियन’ले एक रिपोर्ट नै तयार पारेको छ। जसमा फिल्म पोष्टर सार्वजनिक पछि हिन्दु धर्मावलम्बी र दर्शकको प्रतिक्रिया समावेश गरिएको छ।
सुभाष कपुरद्वारा निर्देशित फिल्म ‘म्याडम चिफ मिनिस्टर’ मा राजनीतिज्ञ मायावतीको जीवनमा आधारित पटकथा छ। मायावती ‘दलित’ हुन्। तर, फिल्मको पोष्टरमा उनको पात्र बुझाउन अभिनेत्री ऋचाले झाडु बोकेको देखाउँदा फिल्म निर्माण टोलीले दलित वर्गलाई न्याय नगरेको महशुस दर्शकहरूले गरेका छन्। यसले जातीय रुढीवादी सोचलाई प्राथमिकता राखेको भन्ने आरोप उनीहरूले निर्माता टोलीलाई लगाएका हुन्।
पोष्टरको ट्याग लाइनमा लेखिएका शब्दहरूमा समेत दर्शकले केही आपत्ति जनाएका हुन्। ऋचाले आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गरेको पोष्टरको ट्याग लाइनमा लेखिएको छ, 'अनटचेबल, अनस्टपएबल।' अर्थात, ‘अछुत, रोक्न असम्भव।’
पोष्टरका यी शब्दले अग्रपन्तिका स्रोतालाई अपमानित गरेको भन्ने आरोप एक समूहले फिल्म निर्माण टोलीलाई लगाएको छ। भारतमा ‘अछुत’ शब्द अस्वीकार्य हुँदाहुँदै फिल्म टोलीले यसलाई प्रयोग गरेर शब्द ब्युत्याएको भन्ने उनीहरूको भनाइ रहेको द गार्डियनले लेखेको छ।
भारतीय समाजमा जातीय विवेद अन्त्य गर्नुपर्छ भन्ने अभियान चलिरहदा फिल्मले भने यसलाई ‘हाइलाइट’ गरेको भन्दै पनि निर्माण टोलीको आलोचना भइरहेको हो। दलित भन्ने बित्तिकै गरिब र ‘तुच्छ काम’ गर्छन् भन्ने सोचाइ फिल्मले देखाउँदै छ भन्नेमा उनीहरूले आपत्ती जनाएका हुन्।
‘म्याडेम चिफ मिनिस्टर’मा ऋचासँगै अक्षय ओब्रोइ र सुभ्रज्योतिको मुख्य भूमिकामा छन्। यो फिल्म सन् २०२० जुलाई १७ मा रिलिज गर्ने भनिएको थियो। तर महामारी र लकडाउनका कारण त्यो सम्भव भएको। अब फिल्म यही जनवरी २२ मा सार्वजनिक हुने भएको छ।
अभिनेत्री ऋचा पछिल्लो समय अश्विनी तिवारीको फिल्म ‘पंगा’मा कंगना रनावतसँग मुख्य भूमिकामा देखिएकी थिइन्। फिल्म सन् २०२० को जनवरीमा रिलिज भएको थियो
त्यस्तै, ऋचा फिल्म ‘सकिला’को पनि तयारीमा रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ। इन्द्रजित लन्केसको निर्देशन रहेको सकिलाको ट्रेलर हालै सार्वजनिक भएको छ। यसमा उनी अभिनेता पंकज त्रिपाठीसँग सहकार्य गर्दैछिन्।