अभिनेता मनोज बाजपेयीले बलिउडलाई एउटै नजरले हेर्नु अपमानजनक र अन्याय हुने बताएका छन्। बलिउड हंगामासँग गरिएको कुराकानीमा उनले बलिउडलाई एकै नजरले हेर्न नहुने बताएका हुन्।
कोरोना महामारीका कारण परेको प्रभाव र सन् २०२० को समग्र बलिउड परिवेशबारे वर्णन गर्ने क्रममा मनोजले बलिउडलाई सामान्यीकरण गर्न नहुने बताए।
सन् २०२० ले उनलाई प्रकृतिसँग नखेल्न र बढी घमण्डी, लोभी, महत्वाकांक्षी नहुन सिकाएको बलिउड हंगामालाई बताएका छन्। त्यस्तै, आफू जस्तो हो, त्यस्तै रहन पनि सिकाएको मनोज बताउँछन्।
सन् २०२० मै बलिउडका तीन कलाकारको निधन भयो- इरफान खान, ऋषि कपुर र सुशान्त सिंह राजपुत। यस विषयमा मनोजले बलिउडले ठूलो क्षति व्यहोर्नु परेको बताए।
बलिउड हंगामाले उनलाई अभिनेता सुशान्त सिंहको मृत्यु र त्यसपछिका घटनाहरूले कस्तो प्रभाव पार्यो भन्ने प्रश्नमा समग्र बलिउडलाई एउटै नजरबाट मात्रै हेरेर धारणा बनाउन नहुने बताएका हुन्।
‘सुशान्तको मृत्युले सम्पूर्ण बलिउडलाई स्तब्ध बनायो। तर उनको मृत्युपछि भएका विवादहरू एकतर्फी र राजनीतिक लाग्यो। त्यहाँ मान्छेहरूको स्वार्थ पनि देखियो,’ उनले भने, ‘सम्पूर्ण बलिउडलाई एउटै ब्रसले पेन्ट गर्नु उचित होइन। यस विषयको विवाद निकै नराम्रो भयो। त्यसैले यसबाट म पछि नै हटेँ।’
मनोजले सन् २०२१ को लागि थुप्रै प्रोजेक्टहरू रहेको समेत बताए। झन्डै ९ महिना फिल्म क्षेत्र बन्द रहेको हुँदा कामहरूको थुप्रो बाँकी भएको बताए।
‘यस विषयमा मैले श्रीमती र छोरीलाई पनि भनिसकेँ,’ उनले बलिउड हंगामालाई भनेका छन्।
सन् १९९४ देखि औपचारिक रूपमा बलिउड प्रवेश गरेका मनोजले दर्जनौं फिल्ममा अभिनय गरेका छन्। हाल उनी निर्देशक रेन्शिल डि सिल्भा निर्देशित फिल्म ‘डायल १००’ को छायांकनमा व्यस्त छन्।