बलिउड अभिनेता राजकुमार रावले आफू फिल्म क्षेत्र प्रवेश गर्नुमा अभिनेता शाहरुख खानको मुख्य भूमिका रहेको बताएका छन्। फिल्म ‘द ह्वाइट टाइगर’बारे बलिउड हंगामासँग कुराकानीक्रममा उनले फिल्म क्षेत्रमा लाग्न शाहरुखबाट प्रेरणा मिलेको बताएका हुन्।
राजकुमार धेरै पहिलेदेखि अभिनेता शाहरुखका ‘फ्यान’ थिए। उनको हरेक काम पछ्याउथे। शाहरुखलाई पर्दामा देख्दादेख्दै आफैंलाई पर्दामा देखिन मन भएको उनले बलिउड हंगामालाई बताए।
सन् २०१० बाट बलिउड प्रवेश गरेका राजकुमारका अनुसार, उनलाई शाहरुखले जीवनभर पुग्ने पाठ पनि सिकाएका छन्।तपाईसँग कुनै सपना छ र त्यो पूरा गर्न कडा मिहिनेत गर्नुभएको छ भने अवश्य सफलता मिल्ने शाहरुखको भनाइले आफूलाई प्रेरणा मिलेको बताए।
राजकुमारले शाहरुखलाई पहिलो पटक सन् २०१३ तिर भेटेका हुन्। जतिबेला राजकुमार फिल्म ‘क्वीन’को तयारीमा थिए। शाहरुखलाई यो फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोलाइएको थियो। राजकुमारले उनलाई त्यतिबेलै भेटेका हुन्।
राजकुमारका अनुसार, शाहरुखलाई त्यसबेला राजकुमार रावकोबारे सम्पूर्ण विवरण थाहा थियो। त्यो क्षण अविस्मरणीय र सुखद रहेको राजकुमारले बताएका छन्।
दर्शकबीच यतिबेला राजकुमार अभिनित फिल्म ‘द ह्वाइट टाइगर’को चर्चा छ। फिल्ममा चर्चित अभिनेत्री प्रियंका चोपडा, आदर्श गौरवलगायतको अभिनय छ। यसलाई रमिन बहरानीले निर्देशन गरेका हुन्।
प्रियंकासँग काम गर्दाको अनुभव पनि राजकुमारले बलिउड हंगामासँग सेयर गरेका छन्। उनले प्रियंका निकै मिजासिलो र घमण्ड नगर्ने स्वाभावको पाएको बताए। ‘उनी अभूतपुर्व छिन्। उनी एक ठूलो स्टार हुन्। तर आफू उच्च स्तरकी अभिनेत्री भए पनि हामीलाई कहिल्यै सानो महशुस गराउनु भएन,’ राजकुमारले भनेका छन्, ‘बरू उल्टै उहाँले सेटमा हरेकको मद्दत गर्नुभयो।’ प्रियंकासँग फेरि पनि सहकार्य गर्न मन भएको बताए।
हिरोभन्दा कन्टेन्ट महत्वपूर्ण ठान्ने राजकुमार फिल्मको विषय र चरित्रको मागअनुसार भूमिका गर्छन्। चरित्रमा अभिनय गर्ने नभई चरित्र नै बाँच्ने सोचले काम गर्ने उनले छोटो समयमा बलिउडमा लोभलाग्दो छलाङ मारेका छन्। शाहिद (२०१३), काइ पो चे (२०१३), सिटी लाइट्स (२०१४), ट्रयाप्ड (२०१६), न्युटन (२०१७) लगायत फिल्म राजकुमारको उत्कृष्ट अभिनय रहेको फिल्म हुन्।
योसँग यतिबेला उनी 'रुही अफ्जाना' र 'बधाइ दो' लागयत फिल्म छायांकन र पोष्ट प्रोडक्सन काममा व्यस्त छन्।