बलिउड अभिनेता अक्षयकुमारले अयोध्यामा राम मन्दिर बनाउन सहयोग जुटाउने अभियान थालेका छन्।
शुक्रबार उनले मन्दिर बनाउनका लागि सहयोग जुटाउने राष्ट्रव्यापी अभियान थालेका हुन्।
सामाजिक सञ्जाल ट्विटरमा एक भिडिओ सेयर गर्दै अक्षयकुमारले आफूले आफ्नो भागको सहयोग गरिसकेको उल्लेख गरेका छन्।
‘अयोध्यामा भगवान रामको विशाल मन्दिर बनाउने काम सुरू हुनु निकै खुसीको कुरा हो। अब यसमा योगदान गर्ने हाम्रो पालो हो। मैले सुरू गरिसकें, आशा छ तपाईंहरूले पनि गर्नुहुनेछ। जय श्रीराम,’ उनले लेखेका छन्।
भिडिओमा उनले ऐतिहासिक र भव्य मन्दिर बनाउन मानिसहरूले जे सक्छन् त्यही दान गर्न सक्ने उल्लेख गरेका छन्।
'हाम्रो अहिलेको योगदानले आउने पुस्ताले पनि रामको जीवन, उनले अपनाएको बाटो र उनका सन्देश पछ्याउने प्रेरणा लिइराख्न पाउनेछन्,' उनले भनेका छन्।
२०२० को दिवालीमा अक्षयकुमारले फिल्म 'राम सेतु' को घोषणा गरेका थिए। अभिषेक शर्माको निर्देशनमा बन्ने यो फिल्मले राम सेतु पुलको कथा भन्नेछ।
गत डिसेम्बरमा अक्षयकुमारले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर 'राम सेतु' फिल्मबारे छलफल गरेका थिए।
एक वर्षअघि भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको थियो।
अदालतको उक्त आदेशपछि अयोध्यामा राम मन्दिर बनाउने बाटो खुलेको थियो।
सर्वोच्चले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि पाँच एकड जमिन उपलब्ध गराउन पनि केन्द्र सरकारलाई निर्देशन दिएको थियो।
अयोध्याको भूमि हिन्दु र मुस्लिमले आफ्नो बताउँदै आएका थिए। अयोध्यामा राम मन्दिर रहेको हिन्दुहरूको अडान र त्यहाँ बाबरी मस्जिद पनि थियो भन्ने मुस्लिम पक्षको अडानले विवाद बढ्दै जाँदा सन् १९९२ मा हिंसा भड्किँदा थुप्रै मानिसहरूको ज्यान गएको थियो।