बलिउड अभिनेत्री शबाना आजमी निर्देशक शेखर कपुरकाे चर्चित फिल्म 'मासूम' की मुख्य अभिनेत्री हुन्। सन् १९८३ को सफल फिल्म 'मासूम' पछि उनीहरुको निजी र व्यावसायिक सम्बन्धमा ठूलो दरार आयो। त्यसपछि शेखर र शबानाको प्रेम र मित्रताबारे अनेक 'गस्सिप' चले तर यी दुईले सँगै काम गरेनन्। ३८ वर्षपछि आएर बल्ल शेखर र शबाना सँगै काम गर्ने भएका छन्।
बलिउड हंगामाका अनुसार, हाल शबाना शेखर कपुरको निर्देशनमा बन्ने ब्रिटस रोम-कोम 'वाट्स लभ गट टु डु' को छायांकनमा व्यस्त छिन्। यसमा उनी मुख्य अभिनेता शाहजाद लतिफकी आमाको भूमिकामा देखिने भएकी छिन्। फिल्ममा महिला पात्रको मुख्य भूमिकामा चर्चित ब्रिटिस अभिनेत्री लिली जेम्सको अभिनय रहनेछ। एम्मा थोम्प्सन लिलीकी आमा बन्दैछिन्।
बलिउड हंगामाका अनुसार, प्रतिभाशाली कलाकार शबाना र एम्मा हाल लन्डनमा भइरहेको छायांकन स्थलका प्रमुख आकर्षण बनेका छन्। खबरअनुसार, 'शबाना स्वभावैले जिज्ञासु स्वभावकी छिन् भने एम्मासँग भारत र भारतीय सिनेमाबारे हजारौं प्रश्न छन्। उनीहरु सेटभन्दा अतिरिक्त समय बौद्धिक छलफलमा बितिरहेको छ।'
फिल्मका निर्देशक शेखरले यसअघि शबानाबाहेक अरु कुनै कलाकारसँग काम गरेका छैनन्।
शेखर हिन्दी तथा अंग्रेजी भाषाका चर्चित फिल्म बनाएर चर्चा कमाएका सफल निर्देशक तथा निर्माता हुन्। बलिउडमा मिस्टर इन्डिया, ब्यान्डिट क्वीनजस्ता सफल फिल्म बनाएका उनले एलिजाबेथ, द फोर फिथर्सलगायत अंग्रेजी फिल्म बनाएका छन्।