बलिउड निर्माता बोनी कपूर र दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी खुशी कपूर फिल्म क्षेत्रमा प्रवेश गर्दैछिन्। खुशीले आफ्नी आमा श्रीदेवी र दिदी जान्हवी कपुरको पाइला पछ्याउँदै बलिउडमा आफ्नो भाग्य जाच्न लागेकी हुन्। उनका बुवा, बोनी कपूरले बम्बई टाइम्ससँग भएको कुराकानीमा खुशीको करिअरबारे बताएका हुन्।
निर्माता बोनीका अनुसार खुशी फिल्म क्षेत्रमा प्रवेश गर्ने तयारीमा छिन् र छिट्टै उनको डेब्यू फिल्मबारे घोषणा हुनेछ। यसो भन्दै गर्दा खुशीले आफ्नै दममा यो क्षेत्र प्रवेश गर्न लागेको कुरामा पनि बोनीले जोड दिएका छन्।
‘मसँग स्रोतहरू छन्। तर, खुशीलाई अरू निर्माताले नै फिल्मको प्रस्ताव गरेको हेर्न चाहन्छु। उनको बुवा भएको नाताले मैले नै उनलाई फिल्म दिनुपर्छ भन्ने मान्दिनँ ,’ बम्बई टाइम्सलाई बोनीले भनेका छन्, ‘निर्माता बुवा भएकै नाताले उनलाई डेब्यू गर्न चाहन्न। एउटा कुशल कलाकारका लागि यो राम्रो पनि होइन।’
बोनीले खुशीलाई अरू निर्माताले नै फिल्म प्रस्ताव गरिसकेको संकेत पनि दिए। उनले थप भनेका छन्, ‘खुशी आफ्नो खुट्टामा आफैं उभिन सकून भन्ने लाग्छ। मैले आदर गर्ने र भरपर्दो व्यक्तिको ब्यानरबाट खुशीले डेब्यू गर्नेछिन्।'
निर्माता बोनीले सन् १९९५ मा आफ्नो भाइ सञ्जय कपूरलाई फिल्म ‘प्रेम’मार्फत् फिल्म क्षेत्रमा ल्याएका थिए। सतिश कौशिक निर्देशित यो फिल्म सार्वजनिक हुन निकै समय लाग्यो। तर, नतिजा चित्त बुझ्दो भएन। त्योबेला आफूले हतार गरेका कारण फिल्म नचलेको भन्ने बोनीलाई लाग्छ। त्यसैले खुशीलाई उनी बिस्तारै राम्रो निर्माताबाट डेब्यू गराउन चाहन्छन्।
बोनीले आफ्नो अर्का भाइ, अभिनेता अनिल कपुरको पनि उदाहरण दिँदै भनेका छन्, ‘अनिल कपुर एक स्थापित अभिनेता भए। तर सञ्जयको मामिलामा मैले हतार गरेँ। उनलाई फिल्म क्षेत्रमा ल्याउन म आफैं बढी उत्साहित भएँ।’
खुशीले अमेरिकास्थित ‘न्यूयोर्क फिल्म एकेडेमी’बाट अभिनय कोर्स सकेकी छन्। केही समयअघि निर्देशक करण जोहरसँगको कुराकानीमा उनले फिल्म खेल्ने इच्छा सुनाएकी थिइन्। तर फिल्म क्षेत्रका कोसँग सहकार्य गर्ने भन्ने बुवा बोनीले नै छनौट गर्न लगाउने बताएकी थिइन्।