बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’ सिनेमा हलबाट सार्वजनिक गर्ने भएका छन्। सलामान इन्स्टाग्राममार्फत फिल्म सिनेमा हलहरूबाट यही इदमा सार्वजनिक गर्ने पक्का गरेका हुन्।
केही साताअघि भारतका 'मल्टिपल एग्जिबिटर एसोसिएसन'ले सलमानलाई पत्रचार गरेका थिए। फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’लाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक नगर्न आग्रह गर्दै संघले सलमानलाई पत्र लेखेको हिन्दुस्तान टाइम्सले जनाएको थियो।
कोरोना महामारी र लकडाउनका कारण फिल्म हल लामो समय बन्द रह्यो। फिल्म हल भर्खंरै पुनः सञ्चालन हुन थालेको छ। सलमानको फिल्म ‘राधे’ले फिल्म हलमा दर्शक फर्काउन सक्ने संघको विश्वास राखेको थियो।
संघको अनुरोधपछि फिल्म सिनेमा घरबाट सन् २०२१ को ईदमा सार्वजनिक गर्ने निश्कर्षमा पुगेको सलमानले लेखेका छन्।
'सबै सिनेमा घरका संचालकहरूसँग कुरा गर्न निकै लामो समय लगाएकोमा मलाई माफ गर्नुहोला। राधेलाई सिनेमा हलबाट रिलिज गर्ने मेरो लागि ठूलो निर्णय हो। हल र प्रदर्शकहरुले भोगिरहेको आर्थिक समस्याहरू मैले पनि बुझेको छु,' सलमानले पोष्टमा लेखेका छन्, 'त्यसैले म उहाँहरूलाई मद्दत गर्न चाहन्छु। फिल्म 'राधे' हलबाट सार्वजनिक हुनेछ। पहिले घोषणा गरेझैं यो २०२१ को इद मैं सार्वजनिक हुनेछ।'
'तर हल संचालहरूलाई एउटा अनुरोध गर्न चाहन्छु। फिल्म हेर्न आउने दर्शकहरूको लागि सावधानी अपनाइयोस्। यो वर्ष फिल्म राधे सिनेमा हलबाट हेर्नुस् र रमाइलो गर्नुस्,' उनले थप लेखेक छन्।
सलमानले आफ्नो प्रोडक्सन हाउस ‘सलमान खान फिल्म्स’बाट निर्मित फिल्म ‘राधे’ जी स्टुडिओलाई भारू २ सय ३० करोड बेचेको खबर बाहिरिएसँगै संघले उनलाई पत्रचार गरेको थियो।
प्रभु देवाको निर्देशन रहेको यो फिल्ममा सलमानसँगै दिशा पटानी, रणदीप हुडा, ज्याकी श्रफ, गौतम गुताटी लगायत कलाकारको अभिनय रहनेछ।
‘राधे’ कोरियन फिल्म 'द आउटलस' को रिमेक हो। यो सलमान खानकै सन् २००९ मा सार्वजनिक फिल्म ‘वान्टेड’को सिक्वेलको रूपमा पनि लिइएको छ। 'राधेः योर मोष्ट वान्टेड भाइ' सन् २०२१ को मेमा सार्वजनिक हुँदैछ।