बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो दैनिकीबारे सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छिन्। इन्स्टाग्राममा दीपिकाले आफ्नो दिनको सुरुवात कसरी गर्छिन् भन्ने खुलाएको फिल्म फेयरले लेखेको छ।
अहिले इन्स्टाग्राम स्टोरीमा 'आस्क मी एनिथिङ' अर्थात् 'मलाई जे मन लाग्छ सोध्नू' भन्दै पोस्ट गर्ने ट्रेन्ड चलिरहेको छ। यसमा प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम फलोअर्सलाई आफूलाई मन लागेको प्रश्न सोध्न भन्छन् र ती प्रयोगकर्ताले हरेक प्रश्न 'स्टोरी'मा पोस्ट गर्दै जवाफ फर्काउँछन्।
यो ट्रेन्डसँगै कलाकारहरू आफ्नो फ्यान र शुभचिन्तकसँग नजिकिइरहेका छन्। यही ‘खेल’ खेल्नेक्रममा एक फलोअरले दीपिकालाई ‘बिहान उठ्ने बित्तिकै के गर्न रुचाउनु हुन्छ’ भन्दै सोधे।
‘मलाई व्यायामसँगै दिनको सुरुवात गर्न रमाइलो लाग्छ र यो महत्वपूर्ण पनि छ,’ जवाफमा दीपिकाले भनिन्। उनले जोड दिँदै भनेकी छन्, ‘म दिनकै व्यायाम गर्न नभ्याए पनि हप्तामा ३-४ पटक गर्छु।’
दीपिकाको स्वाभावका कारण उनलाई रुचाउने धेरै छन्। दीपिका आफ्नो हरेक स-साना कुरामा ध्यानपूर्वक काम गर्छिन्। उनी आफ्नो जीवन कसरी बाँच्नेबारे सचेत अभिनेत्रीमध्ये पर्छिन्।
दीपिका यतिबेला सिद्धार्थ आनन्द निर्देशित फिल्म ‘पठान’ फिल्मको छायांकनमा व्यस्त छिन्। फिल्ममा अभिनेता शाहरुख खान र जोन अब्राहमको मुख्य भूमिका अभिनय देख्न पाइनेछ।