बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले मुम्बईस्थित बान्द्रामा घर किनेकी छन्। सोनाक्षीले आफ्नै रकम र पहलमा '४ बिएचके अपार्टमेन्ट' किनेको बलिउड हंगामाले जनाएको छ। योसँगै सोनाक्षीको सपना पूरा भएको उनले बताएकी छन्।
‘जुनबेला देखि काम गर्न थालेँ, त्यो बेलादेखि आफ्नै कमाइमा घर किन्ने सपना थियो। त्यो पनि ३० वर्ष नाघ्नु अघि,’ डिजाइन इसेन्स म्यागेजिनसँगको कुराकानीमा सोनाक्षीले भनेकी छन्, ‘उमेरले ३० कटिसकेँ। तर आज आएर मैले मेरो सपना भने पूरा गरेकी छु।’
सोनाक्षीले गत वर्ष नोभेम्बरमा मात्र रामायणमा आफ्ना लागि एउटा फ्लोर तयार पारेकी थिइन्। त्यसको इन्टेरिअर डिजाइनिङ रुपिन सूचकले गरेका थिए। परिवारसँग बस्दै आएकी सोनाक्षी अब भने आफ्नै पहलमा बस्न तयार छिन् कि भन्ने अन्दाज लगाउन सकिन्छ।
तर यस विषयमा सोनाक्षीले भनेकी छन्, ‘मलाई परिवारसँग बस्न रमाइलो लाग्छ। त्यसैले परिवार र यो घर अहिले नै छाडेर जाने सोचेकी छैन। आफ्नै कमाइले घर किनेर पहिल्यैदेखिको मेरो सपना पूरा गरेकी मात्र हो।’
३३ वर्षीय अभिनेत्री सोनाक्षीले बलिउडमा आफ्नो करिअर कस्टम डिजाइनरबाट सुरु गरेकी थिइन्। पहिलो पटक उनले सन् २००५ मा फिल्म ‘मेरा दिल लेके देखो’को लागि लुगा डिजाइन गरेकी थिइन्। पछि सन् २०१० मा आएर फिल्म ‘दबङ’बाट बलिउडमा डेब्यू गरिन्। अभिनव कास्यप निर्देशित यो फिल्ममा उनीसँगै अभिनेता सलमान खानको मुख्य पात्रमा अभिनय छ।
यतिबेला सोनाक्षी फिल्म ‘भुजः द प्राइड अफ इन्डिया’को तयारीमा छिन्। फिल्ममा उनीसँगै अभिनेता अजय देवगन र सञ्जय दत्त मुख्य भूमिकामा देखिँदैछन्। फिल्मलाई अभिषेक दुधैयाले निर्देशन गर्दैछन्।