बलिउड फिल्म ‘दिलवाले दुलहनियाँ ले जाएंगे’ रिलिज भएको २५ वर्ष नाघ्यो। तर फिल्म अझै भारतका केही सिनेमा घरमा प्रदर्शन भइरहेको छ। आदित्य चोपडा निर्देशक यो फिल्ममा अभिनेता शाहरुख खान र काजोलको मुख्य भूमिका छ।
रोमान्टिक-ड्रामा ‘दिलवाले दुल्हनियाँ लेजाएंगे’ सन् १९९५, अक्टोबरमा सार्वजनिक भएको हो। गत अक्टोबर २०२० मा यसले २५ वर्ष पूरा गरेको छ।
बलिउड अखबार पिंकभिल्लाका अनुसार यो फिल्म अझै पनि मुम्बईस्थित मराठा मन्दिर सिनेमा हलमा देखाइँदैछ। फिल्म हेर्न दर्शकको चाप र रूचि पनि उत्तिकै रहेको जी ७ मल्टिप्लेक्स र मराठा मन्दिर सिनेमा हलका कार्यकारी निर्देशक मनोज देसाई बताउँछन्।
तर, कोरोना महामारीसँगै आएको लकडाउनका कारण हलहरू बन्द रह्यो। हल खुलेसँगै गत नोभेम्बर २०२० देखि ‘दिलवाले दुल्हनियाँ लेजाएंगे’को स्क्रिनिङ सुरू भएको छ। हलका कार्यकारी निर्देशक मनोजका अनुसार यही फिल्मले उनीहरूको व्यवसाय धानेको छ।
‘हामीले नोभेम्बरबाट यो फिल्मको स्क्रिनिङ थाल्यौं। अहिले दैनिक २ देखि ३ सय दर्शक हुन्छन्। अरू फिल्ममा उत्ति दर्शक हुँदैनन्। त्यसैले यही फिल्मले हामीलाई बचाइराखेको छ,’ उनले पिंकभिल्लालाई भनेका छन्। हलको क्षमता ११ सय दर्शकको हो। तर महाराष्ट्र सरकारले तोकेको मापदण्ड अनुसार ५० प्रतिशत दर्शक मात्र राख्न पाउँछन्।
मनोजका अनुसार बिदाका दिनहरूमा सामान्यभन्दा दर्शकको संख्या बढी हुन्छ। अहिले लोकेश कंगराज निर्देशित फिल्म ‘मास्टर’ पनि हलबाट प्रदर्शन हुँदैछ। त्यसैले पनि हल व्यवसायीहरूलाई केही राहत मिलेको उनी बताउँछन्। ‘मास्टर’मा अभिनेता विजय र विजय सेतुपतीको अभिनय देख्न सकिन्छ।
अर्को चाखलाग्दो कुरा यो पनि हो कि, फिल्म ‘दिल वाले दुलहनियाँ लेजाएंगे’ को टिकटको मूल्य २५ वर्षअघि थियो, अहिले पनि उत्ति नै छ। टिकट मूल्य भारु २०, २५ र ३० छ। यो बस्ने ठाउँ हेरिहेरि हुन्छ।
फिल्ममा राज मल्होत्रा र सिमरन सिंहको प्रेमको वरिपरि घुम्छ। दुई जनाको विवाह स्वीकार्न राजले सिमरनको बुबालाई फकाउन थाल्छन्। यही घटनाको वरिपरि फिल्मको कथावस्तु घुमेको छ।
फिल्ममा राजको भूमिकामा शाहरुख, सिमरनको भूमिकामा काजोल र बुवाको भूमिकामा अमरिश पुरी छन्। फिल्मलाई यश चोपडाले निर्माण गरेका हुन्।