नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा अभिनय गर्ने भएकी छन्। उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँगै ‘वुमन्स स्टोरिज’ मा देखिने भएकी हुन्।
डेडलाइनका अनुसार, ६ अलग शीर्षकमा निर्माण हुने ‘वुमन्स स्टोरीज’ का सबै भागका निर्देशक महिला हुनेछन्। यसमा अभिनय गर्ने कलाकार पनि सबै महिला हुनेछन्। अञ्जली र ज्याकलिनको अभिनय रहने ६ मध्ये एक ‘सेयरिङ ए राइड’ की की निर्देशक लीना यादव हुन्।
फरक देशका निर्देशकहरुले निर्देशन गर्ने यो फिल्म भारत, अमेरिका र इटालीमा छायांकन हुने जनाइएको छ। कमेडी, डकु-ड्रामा, एनिमेसन आदि विधामा बनाइने फिल्ममा सबै पात्र महिला हुनेछन्।
महिलाको जीवनका विभिन्न पक्ष देखाइने यो फिल्ममा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ।
पुरुषको रुपमा जन्मेर महिला बनेकी अञ्जली तेस्रोलिंगी समुदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने पहिलो मोडल हुन्। उनी २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा उत्कृष्ट २० सम्म पुगेकी थिइन्।
‘ल्याक्मे फेसन शो’ ले उनलाई नेपालको पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा चर्चा दिलाएको हो।
यो पनि पढ्नुस्ः संसारकै सुपर मोडल बन्न चाहन्छु