बलिउड अभिनेता अनिल कपुरले फिल्म क्षेत्रमा ४ दशक बढी समय कटाइसके। अभिनेतासँगै अनिलले सन् २००२ देखि फिल्म निर्माताको रूपमा आफ्नो पहिचान विस्तार गरिरहेका छन्। ६४ वर्षीय अनिल बलिउडमा अझै सक्रिय छन्।
भारतीय अखबार बलिउड हंगामाका अनुसार अनिलको अभिनय र फिटनेशका कारण उनलाई फिल्ममा देख्न चाहनेहरूको जमात नै बेग्लै छ। यतिबेला उनी नयाँ पुस्ताको प्रतिस्पर्धी बनेका छन् भन्दा फरक पर्दैन।
हालैमात्र अनिलले फिल्म ‘एके भर्सेस एके’मा अभिनयसँगै ओटिटीमा डेब्यू गरेका छन्। फिल्म २४ डिसेम्बर २०२० मा नेटफ्लिक्समार्फत रिलिज भएको हो। विक्रम आदित्य मोतवानी निर्देशित फिल्ममा अनिलसँगै अनुराग कस्यप प्रमुख भूमिकामा छन्।
सन् १९७० मा फिल्म 'तु पागल, में गीत'मा छोटा शसी कपुर बनेर बलिउड डेब्यू गरेका अनिलले 'वो सात दिन', 'राम लखन', 'नायक'जस्ता दर्जनौं फिल्ममा उत्कृष्ट अभिनय दिएका छन्।
अभिनयसँगै उनले सन् २००२ देखि फिल्म निर्माण सुरु गरेका हुन्। उनले सोही वर्ष कमेडी फिल्म 'बधाई हो बधाई' मा अभिनेता तथा निर्माताको भूमिका निर्वाह गरेका थिए।
तिनै अभिनेता तथा निर्माताको माग यतिबेला चुलिएको देखिन्छ। उनलाई नयाँ पुस्ताबाट फिल्मको लागि प्रस्ताव आइरहेको अनिलले एक अन्तर्वार्तामा बताएका छन्।
‘नयाँ पुस्ताको निर्माताहरूले आफ्नो फिल्ममा मलाई लिन खोज्नुभएको छ। नयाँ विषयवस्तुमा आधारित पटकथाहरू पढ्न पठाउनु हुन्छ,’ अनिलले अन्तर्वार्तामा भनेका छन्, ‘अझै पनि फिल्ममा मलाई लिन खोज्नु भएको बुझ्दा रमाइलो लाग्छ। र, महत्वपूर्ण यो हो कि व्यवसायिक र आर्थिक हिसाबमा उस्तै सम्मान पाइरहेको छु।’
अनिल यतिबेला राज मेहेताको नयाँ फिल्म ‘जुग जुग जिओ’को छायांकनमा व्यस्त छन्। फिल्ममा उनीसँगै अभिनेत्री नितु कपुर, कायरा अद्भानी र वरुण धवनको अभिनय देख्नेछौं।