बलिउडकी सफल अभिनेत्री प्रिती जिन्टाले आफ्नो फिल्म करिअर ‘सिक्का’को भरमा सुरू भएको बताएकी छन्। क्या केहना, कल हो ना हो, दिल चाहता है, वीर-जारा जस्ता चर्चित फिल्ममा अभिनय गरेकी प्रिती रुप र अभिनय दुवैले धेरैको अभिनय जित्न सफल अभिनेत्री हुन्।
हँसिली प्रिती हाँस्दा 'डिम्पल' देखिने अभिनेत्रीका रूपमा पनि चिनिन्छिन्।
‘रेन्डिवो विथ सिमी ग्रेवाल'सँगको अन्तर्वातामा प्रितीले आफ्नो बलिउड करिअर भाग्यको भरमा सुरु भएको बताएकी हुन्।
‘कथाजस्तो सुनिन्छ। तर कथा होइन। जब मैले पहिलो पटक शेखरलाई भेटेँ, उहाँले मलाई फिल्म ‘तारा रम पम पम’को लागि साइन गर्न भन्नुभयो। शेखर कपुरको अघि म सानो बच्चा न थिएँ। म ‘कुल’ देखिन पनि चाहन्थेँ,’ प्रितीले भनेकी छन्, ‘मैले यदि नियतिले चाहेको छ भने म फिल्ममा आउँछु भनेँ। मसँग भएको सिक्का फ्लिप गर्दै भनेकी थिएँ, ‘यदि हेड आयो भने म फिल्म खेल्छु, नभए खेल्दिनँ।’
सिक्का फ्लिपमा हेड पर्यो। र, यसरी प्रितीले निर्देशक शेखर कपुरको फिल्म ‘तारा रम पम पम’मा साइन गरेर बलिउड प्रवेश गरिन्। तर केही कारणवश फिल्मको छायांकन रोकियो।
पछि सन् १९९८ मा निर्देशक मणि रत्मनको फिल्म ‘दिल से’मा अभिनयसँगै प्रितीले बलिउड डेब्यू गरिन्। फिल्ममा उनीसँगै अभिनेता शाहरूख खान र मनिषा कोइराला मुख्य भूमिकामा छन्।
‘रेन्डिवो विथ सिम्मी ग्रेवाल’मा प्रितीले बलिउड प्रवेश गर्ने निर्णय सिक्काको भर भएको भनेसँगै सिम्मीले जिज्ञासामा सोधेकी छन्, ‘सिक्कामा यदि टेल परेको भए चैं के गर्नुहुन्थ्यो?’ सहज जवाफ दिँदै प्रितीले भनेकी छन्, ‘म फिल्मको लागि साइन नै गर्दिन थिएँ। कसम, म बलिउड प्रवेश गर्दिन थिएँ।’
प्रितीले आफ्नो करिअर निकै सहज ढंगमा लिएको सुन्दा सिम्मी अचम्मित भइन्। ‘जे गरेँ स्टाइलका लागि गरेँ। स्टाइलको लागि जे पनि,’ प्रितीले थप भनेकी छन्।
आइतबारदेखि प्रिती ४६ वर्ष लागेकी छन्। सन् २०१६ मा विवाहपछि उनी आफ्नो श्रीमान र परिवारसँग लस एन्जल्समा समय बिताइरहेकी छन्।