अभिनेता आमिर खान आफूले निर्वाह गर्ने हरेक चरित्रका लागि गर्ने मेहनतका कारण चर्चामा आइरहन्छन्। नयाँ फिल्म 'लाल सिंह चड्डा' पात्र बन्न गरेको पछिल्लो निर्णयका कारण फेरि उनको चर्चा बढेको छ।
बलिउड हंगामाका अनुसार, आमिरले काममा अवरोध गरेका कारण मोबाइल फोन प्रयोग नगर्ने निर्णय गरेका हुन्। अचेल मानिस मोबाइल फोनबिना केही मिनेट बिताउन नसक्ने भइसकेका छन्। तर आमिरले भने पात्र 'लाल सिंह चड्डा' सार्वजनिक नहुन्जेल मोबाइल फोन नचलाउने निर्णय गरेका छन्।
दर्शकहरु यसै पनि आमिर खानका हरेक फिल्मको प्रतीक्षामा हुन्छन्। आमिरका प्राय: फिल्मजस्तै 'लाल सिंह चड्डा' पनि २०२१ को बहुप्रतीक्षित फिल्म हो। फिल्म आगामी क्रिसमसमा सार्वजनिक गरिने बलिउड हंगामाले लेखेको छ। यसअघि आमिरका पीके, दंगल, पिके, तारे जमिन पर, गजनीजस्ता ब्लकबस्टर फिल्म पनि क्रिसमसकै बेला सार्वजनिक भएका थिए।
'लाल सिंह चड्डा' हाल छायांकन र पोस्ट प्रोडक्सनको चरणमा छ। अद्वैत चन्दनको निर्देशनमा बन्ने यो हलिउड सिनेमा 'फरेस्ट गम्प'को आधिकारिक हिन्दी रिमेक हो। फिल्ममा आमि लामो दाह्री र कपालमा देखिने छन्। यही फिल्मबाट दक्षिण भारतीय स्टार विजय सेतुपतिले हिन्दी फिल्ममा डेब्यु गर्दैछन्।
फिल्म सार्वजनिक नहुन्जेल मोबाइल फोन प्रयोग नगर्ने आमिरको निर्णयले फेरि एक पटक उनी आफ्नो काम र चरित्रमा शतप्रतिशत दिन जे पनि गर्न तयार छन् भन्ने सन्देश दिन सफल भएका छन्। उनले फेरि एक पटक साबित गरिदिएका छन्, उनी वास्तवमै 'मिस्टर पर्फेक्सनिस्ट' हुन्।