बलिउड अभिनेत्री कंगना रनावतले स्विडेनकी किशोरी जलवायु अभियन्ता ग्रेटा थनबर्गलाई ‘बिग्रेको बच्चा’ भनेकी छन्। भारतमा जारी किसान आन्दोलन विषयमा ग्रेटाको समर्थनलाई खारेज गर्दै कंगनाले उनलाई ‘बिग्रेको बच्चा’ भनेकी हुन्।
हिन्दुस्तान टाइम्सका अनुसार कंगनाले बुधबार ‘द हिन्दु डटकम’मा प्रकाशित १०५ वर्षीय एक अर्गानिक किसानको समाचार ट्विटरमा सेयर गर्दै ग्रेटालाई मेन्सन गरेकी हुन्। जसमा उनले ग्रेटालाई आलोचना गरेकी छन्। ग्रेटा सन् २०१९ मा ‘टाइम्स पर्सन अफ द इयर’ बाट सम्मानित भएकी थिइन्। उनी 'विश्व शान्ति नोबेल पुरस्कार'का लागि पनि मनोनित भएकी थिइन्।
ट्विटरमा पोस्ट सेयर गर्दै कंगनाले लेखेकी छन्, ‘कुनै पनि कल्पनावादी अभियान्ताहरूले हाम्रो हजुरआमा जस्तो वास्तविक पर्यावरणविदहरूबारे बोल्दैनन्। तर उनीहरू ग्रेटा थनबर्ग जस्तो बिग्रेको बच्चाबारे खुबै बोल्छन्। जो अरूबाट प्रयोग भइरहेकी छन्। बदलामा उनी विद्यालय र शिक्षाबाट टाढिरहेकी छन्।’
कंगनाले ग्रेटालाई ‘बिग्रेकी बच्चा’ भन्दै सम्बोधन गर्नु अघि बेलायती टेलिभिजन प्रस्तोता जेरिमी क्लार्कसनले ग्रेटालाई सम्बोधनक्रम ‘बिग्रेकी बच्चा’ भनेका थिए। उनैको भाषा कंगनाले प्रयोग गरेको भन्ने छ। ग्रेटालाई अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘चिल’ अर्थात् विषयहरू हलुवा ढंगले लिन सुझाएका थिए।
ग्रेटालाई ट्विटरमा मेन्सन गरेर ‘बिग्रेकी बच्चा’ भन्नु अघि कंगनाले अमेरिकी पप गायिका रिहानालाई पनि ‘मूर्ख’ भनेकी थिइन्। भारतमा जारी किसान आन्दोलनबारे रिहानाले मंगलबार सिएनएनको समाचार सेयर गर्दै ‘उक्त विषयमा हामी किन बोलिरहेका छैनौं?’ भनेकी थिइन्।
यसमा जवाफ फर्काउँदै कंगनाले भनिन्, ‘कोही पनि बोलिरहेका छैनौं किनभने उनीहरू किसान होइनन्। उनीहरू आतंकवादी हुन् जो भारतलाई विभाजन गर्न चाहन्छन्। यसो भयो भने हाम्रो राष्ट्र कमजोर हुन्छ अनि चीनले कब्जा गर्नेछ। र, देशलाई अमेरिका जस्तै बनाउँनेछ।’
कंगनाले रिहानालाई थप भनेकी छन्, ‘चुप लागेर बस मूर्ख, हामी हाम्रो देश तिमीहरू जस्तो पुत्लालाई बेच्दैनौं।’
कंगनाको यस अघि पनि अभिनेता दिलजित दोसनसँग यिनै विषयमा ट्विटरमा भनाभन भएको थियो।