अभिनेत्री अनिता हस्सनंदनी ३९ वर्षको उमेरमा आमा बनेकी छन्। उनले हिजो मंगलबार पहिलो सन्तानलाई जन्म दिएकी हुन्।
हिन्दुस्तान टाइम्सका अनुसार अनिता आमा बनेको खबर उनका श्रीमान रोहित रेड्डीले इन्स्टाग्राममार्फत जानकारी गराएका हुन्। आफ्नो र श्रीमतीको फोटो सेयर गर्दै रोहितले क्याप्सनमा लेखेका छन्, ‘ए केटो।’
इन्स्टाग्राम स्टोरीमा पनि रोहितले आफ्नो र अनिताको फोटोहरू सेयर गरेका छन् जसमा उनी मास्क र टोपीमा देखिन्छन्।
यो दम्पतीलाई कमेडिअन भारती सिंह, करणवीर बोहरा र नेहा धुपियाले शुभकामना व्यक्त गरेका छन्।
हिन्दी, तेलुगु र तमिल फिल्महरूमा अभिनय गरेकी अभिनेत्री अनिता केही समयदेखि टेलिश्रृङ्खलामा व्यस्त छिन्। उनी कलर्स टिभीबाट प्रसारण हुने ‘नागिन ३’, ‘नागिन ४’ र स्टार प्लसबाट प्रसारण हुने ‘काभ्याञ्जली’ र ‘ये है मोहब्बत’ टेलिश्रृङ्खलाका पात्रहरूबाट परिचित छन्। उनी नागिनको श्रृङ्खलामा नागिनको भूमिकामा छिन्।
गर्भवती अवस्थामा पनि अनिता सामाजिक सञ्जालमा सक्रिय रहिन्। उनले कहिले गर्भावस्थाको समय रमाइलो लागिरहेको त कहिले चर्चित गायिका बियोन्से जस्तै महशुस गरेको भन्दै पोस्ट गरेकी थिइन्। उनले पहिलो पटक आफू आमा बन्न लागेको खबर तिहारको बेला सार्वजनिक गरेकी थिइन्।
अनिता र रोहित दुवै टेलिश्रृङ्खलाका चर्चित कलाकार हुन्। उनीहरू विगत ८ वर्षदेखि विवाह सम्बन्धमा बाँधिएका छन्।