भारतीय रियालिटी टेलिभिजन शो 'बिग बोस' को १४ औं सिजन सकिन लाग्दा अभिनेता सलमान खानले पारिश्रमिकबारे असन्तुष्टि पोखेका छन्। सलमानले अर्को साता सकिने 'बिग बोस' को आगामी सिजनमा १५ प्रतिशत वृद्धि भए मात्रै निरन्तरता दिने बताएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार 'बिग बोस' १४ औं सिजन का होस्ट सलमानले सो कुरा बिग बोस १४ को शनिबारको शृङ्खलामा भनेका हुन्। ‘यो सिजनको समापन हुँदैछ। अर्थात् हामी बिग बोसका कोही पनि कर्मचारीले अर्को हप्तादेखि अर्को वर्षसम्म कुनै पनि चेक पाउनेवाला छैनौं,’ सलमानले भनेका छन्, ‘त्यसैले म निकै दुखी र निराश छु। सन् २०२० फेरि सुरु हुन्छ कि भन्ने डर लागिरहेछ।’
उनले योसँगै भनेका छन्, ‘तर जिन्दगी चलिरहन्छ। यो कार्यक्रम सक्ने बित्तिकै म फिल्म पठानको छायांकनमा लाग्नेछु। त्यसपछि फिल्म टाइगरको लागि व्यस्त हुनेछु।’
सिद्धार्थ आनन्द निर्देशित ‘पठान’ मा उनी अभिनेता साहरुख खान, जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोणसँग सहकार्य गर्दैछन्। त्यस्तै मनिष शर्मा निर्देशित फिल्म ‘टाइगर’को सिक्वेल ‘टाइगर ३’ मा उनी अभिनेता इमरान हाशमी र अभिनेत्री कट्रिना कैफसँग सहकार्य गर्दैछन्।
सलमानले कहिले ईदमा त कहिले तिहारमा फिल्म सार्वजनिक हुने हिसाबमा काम अघि बढाउने बताएका छन्। ‘अनि ८ महिनापछि त बिग बोसको सिजन १५ आइहाल्छ। बिग बोस सुरु भएपछि तपाईंहरूले साथ दिनुहुनेछ भन्ने ग्यारेन्टी नै छ। म पनि आउँछु यदि टोलीले मेरो पारिश्रमिक १५ प्रतिशतले बढाइदियो भने!’
बिग बोसको सिजन १४ सार्वजनिक हुनुअघिको रिपोर्ट अनुसार सलमानले सिजन ४ देखि ६ सम्मको प्रत्येक भागको भारु २.५ करोड पारिश्रमिक लिन्थे। पछि सिजन ७ मा उनको यो पारिश्रमिक दोब्बर गरियो। सिजन ७ मा उनले प्रत्येक भागका लागि ५.५ लिए। बिग बोस सिजन ९ र १० होस्ट गर्दा उनले ७ देखि ८ करोड लिए भने यसको सिजन ११ र १२ मा उनले ११ करोड लिएको खबर सार्वजनिक भयो।
एनडिटिभीका अनुसार सलमानले बिग बोस सिजन १४ को प्रत्येक भागको लागि भारु १६ करोड लिएका थिए।
‘सलमान खानले अब बिग बोसको एक भागका लागि १६ करोड पारिश्रमिक लिने कुरा छ,’ एनडिटिभीले बिग बोस १४ सुरु हुन अघि लेखेको थियो, ‘बिग बोस १३ का लागि उनले १२ देखि १४ करोड भारू लिएका थिए। यसै पनि सलमानले हरेक सिजनमा आफ्नो पारिश्रमिक बढाउँदै आएका छन्।’
सलमानले सन् २०१० अर्थात् बिग बोसको सिजन ४ देखि कार्यक्रम होस्ट गर्दै आएका छन्।