बलिउड अभिनेता सन्दीप नहारले आत्महत्या गरेका छन्। सोमबार दिउँसो मुम्बईस्थित निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।
नहारले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको बायोपिक फिल्म 'एमएस धोनी: द अनटोल्ड स्टोरी'मा सुशान्तसिंह राजपुतसँगै अभिनय गरेका थिए। पछिल्लो समय उनले अक्षय कुमारको 'केसरी' फिल्ममा पनि अभिनय गरेका थिए।
आत्महत्या गर्नुअघि उनले फेसबुकमा लामो स्टाटस लेखेका थिए। उक्त स्टाटसमा उनले आफ्नो वैवाहिक सम्बन्ध निकै तनावपूर्ण रहेको उल्लेख गरेका थिए। बलिउडको राजनीतिले पनि आफ्नो जीवनलाई नर्कजस्तो बनाएकाले खुसीसाथ जीवन अन्त्य गर्न लागेको उनले फेसबुकमा लेखेका थिए।
यसअघि गत जुनमा राजपुतले पनि आत्महत्या गरेका थिए। उनको आत्महत्यापछि बलिउडमा तरंग आएको थियो। केही बलिउडकर्मीले राजपुत बलिउडको नातावाद र परिवारवादको सिकार भएको बताएका थिए। प्रहरीले उनलाई आत्महत्या गर्न दुरूत्साहन गरेकोमा पूर्वप्रेमिकासहित केहीलाई हिरासतमा लिएको थियो।