बलिउड फिल्म ‘डियर जिन्दगी’को सहकार्य र सफलतापछि अभिनेता शाहरूख खान र अभिनेत्री आलिया भट्टले पुनः सहकार्य गर्दैछन्।
शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेन्मेन्ट ब्यानरबाट नयाँ फिल्म ‘डार्लिङ्स’को तयारी भइरहेको छ। सोही फिल्मबाट शाहरूख र आलिया सहकार्य गर्ने भएका हुन्।
बलिउड हंगामाका अनुसार ‘डार्लिङ्स’को पटकथा एक आमा-छोरीको सेरोफेरोमा तयार भएको छ। जसमा आलिया मुख्य पात्रमा देखिनेछिन्। फिल्म आलियाको वाचनसँगै तयार हुने भनिएको छ।
‘उनले पटकथा पढ्ने बित्तिकै फिल्मका लागि स्वीकृति जनाइन्,’ एक स्रोतले बलिउड हंगामालाई भनेका छन्।
पर्दामा शाहरूख भने देखिने छैनन्। शाहरूख फिल्ममा निर्माताको भूमिका निर्वाह गर्दैछन्। ‘डार्लिङ्स’बाट जसमीत के रिनले निर्देशकको रूपमा डेब्यू गर्दैछन्। उनले यसअघि सहायक निर्देशकका रूपमा भने अनुभव बटुलिसकेका छन्। जसमीतले ‘फोर्स २’, ‘फन्ने खान’ र ‘पति पत्नी और वो’लगायत फिल्मका कथा लेखेका हुन्।
‘डार्लिङ्स’मा आलियासँगै सेफली शाह, विजया वर्मा र रोहन माथ्यूको अभिनय हुनेछ। यसमा सेफाली र आलिया आमा-छोरीको भूमिकामा हुनेछन्।
‘यो मुम्बईमा बसोबास गर्ने मध्यवर्गीय परिवारका दुई महिला सदस्यको कथामा आधारित हुनेछ। उनीहरू जीवनको खोजीमा हुन्छन् तर त्यसै समय असाधारण परिस्थितिमा साहस र प्रेमको स्वाद पाउँछन्,’ स्रोतले फिल्मको पृष्ठभूमिबारे बताएको बलिउड हंगामाले लेखेको छ।
फिल्मको छायांकन सन् २०२१ बाटै सुरू हुने भनिएको छ। फिल्म अर्को साल नै सार्वजनिक गर्ने योजनामा निर्माण हुने बताइएको छ।
फिल्म ‘डार्लिङ्स’ बाहेक शाहरूख खानको प्रोडक्सन टोली फिल्म ‘लभ होस्टल’ र ‘बब विवस’को निर्माणमा पनि व्यस्त छन्। ‘बब विवस’को पोस्ट-प्रोडक्सन काम भइरहेको छ र फिल्म सन् २०२१ मा सार्वजनिक हुने तयारीमा छ। फिल्ममा अभिषेक बच्चन, विद्या बालनलगायत कलाकारको अभिनय छ। ‘लभ होस्टल’ मा भने बबि देवल, विक्रान्त मास्से र सान्या मलहोत्राको अभिनय दिँदैछन्।
यस्तैमा शाहरूख खान पनि फिल्म ‘पठान’को छायांकनमा व्यस्त छन्। फिल्ममा उनीसँगै दीपिका पादुकोण, जोन अब्राहम, सलमान खानलगायत कलाकारको अभिनय हुनेछ। फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन्।