बलिउड अभिनेत्री कंगना रनावत फेरि ट्रोल र मिमको सिकार बनेकी छन्। उनले आफूलाई अमेरिकी अभिनेता टम क्रुजसँग तुलना गरेको र उनीभन्दा राम्रो भएको बताएपछि ट्रोल बन्न थालेकी हुन्।
हिन्दुस्तान टाइम्सका अनुसार कंगनाले हालैमात्र केआरके बक्सको ट्विटमा जवाफ फर्काउँदै आफूले आफैंलाई कहिल्यै टम क्रुजसँग तुलना नगरेको बताएकी छन्। दुई जनाबीच स्टन्ट निर्देशक निक पावेलले तुलना गरेको र उनले कंगनालाई अरूभन्दा भिन्न रहेको बताएका थिए भन्ने कंगनाको भनाइ छ। स्टन्ट निर्देशक निकले कंगना र ट्रम दुवैसँग सहकार्य गरेका छन्।
कंगनाले यसअघि आफैंलाई तीनभन्दा बढी अस्कर विजेता अमेरिकी कलाकार मेर्ली स्ट्रिपभन्दा कुशल अभिनेत्री रहेको पनि बताएकी थिइन्। त्यसपछि कंगना ट्रोलको सिकार बनिन्। तर उनलाई खासै फरक परेको देखिएन। पछि उनले अभिनेता मार्लोन ब्रान्डोसँग पनि आफैंलाई तुलना गरिन्। त्योबेला उनले स्टन्ट निर्देशक निक पावेलको भनाइ उदृत गरेकी थिइन्। जसमा निकले भनेका थिए, ‘कंगना टम क्रुजले भन्दा सहजै स्टन्टहरू गर्छिन्।’
मंगलबार कंगनाले यिनै भनाइलाई आधार बनाएर हालैमात्र केआरके बक्सको ट्विटमा प्रतिक्रिया जनाएकी हुन्। केआरके बक्सले ट्विटमा कंगनाले आफूलाई ट्रम क्रुजसँग तुलना गरेपछि मिम बन्न थालेको बताएका थिए। जसमा कंगनाले भनेकी छन्, ‘मैले कहिल्यै दावी गरेकी छैन। संसारको एक उत्कृष्ट स्टन्ट निर्देशक निक पावेलले गरेका हुन्। धेरै माया।’
कंगनाले केही समयअघि आफूलाई टमसँग तुलना गर्दै ट्विटमा भनेकी थिइन्, ‘हा हा हा... सबैजना निकै अलमल देखिन्छन्। तर हेर मलाई, फिल्म 'ब्रेभ हार्ट' जस्तो ऐतिहासिक फिल्मका एक्सन निर्देशकले म टम क्रुजभन्दा राम्रो एक्सन सिन दिन्छु भनेका छन्। बिचरा तिमीहरू अझ तड्पिनू।’
कंगनाले ट्विटमा निक पावेलले भनेका कुरा उल्लेख गरेकी छन्। निकले कंगनासँग फिल्म ‘मनिकर्निकाः द क्वीन अफ झाँसी’ मा सहकार्य गरेका थिए। त्यसबेला निकले भनेका थिए, ‘मैले रसल क्रु, टम क्रुज र ब्राड पिटसँग काम गरेको छु। तर कंगनासँग काम गर्दा उनले अरूलेभन्दा भिन्न अनुभूति गराइन्। यस्तो समय पनि थियो जब उनले टम क्रुजले भन्दा सजिलो तरिकाले स्टन्ट गरिन्।’
कंगना यिनै भनाइलाई आधार बनाएर आत्मविश्वासी देखिन्छन्। आफू गलत हो भने गलत साबित गर्न पनि कंगनाले सबैलाई चुनौती दिएकी छन्। भनेकी छन्, ‘मेरो दाबीहरू गलत र अतार्कित ठहराउनू। म मेरा भनाइहरू गलत भए स्वीकार्छु। होइन भने मैले जे भनेँ त्यो तपाईहरूले स्वीकार्नुस्।’
कंगनाको यस प्रकारको भनाइमा फिल्म क्षेत्रका इसान खत्तर, तापसी पन्नु र रिया छद्हालगायत कलाकारले अप्रतक्क्ष रुपमा आफ्नो टिप्पणी र प्रतिक्रिया जनाइरहेका छन्।