‘पठान’ अभिनेता शाहरूख खानको प्रतीक्षित फिल्म हो। फिल्ममा लामो अन्तरालपछि शाहरुखसँगै दर्शक दीपिका पादूकोणलाई हेर्न पनि आतुर छन्। तर सन् २०२१ मा रिलिज हुने भनिएको यो फिल्म हेर्न सन् २०२२ सालसम्म प्रतीक्षा गर्नुपर्ने भएको छ।
बलिउडका ट्रेड एनलिस्ट तरण आदर्शले आइतबार ट्विट गर्दै फिल्म सन् २०२२ सालमा मात्र रिलिज हुने जानकारी गराएका हुन्। २०२१ मै सार्वजनिक हुने भनिएको यो फिल्मको मिति सरेको खबरबारे उनले ट्विटमा लेखेका छन्, ‘ब्रेकिङ न्युज! लामो समयपछि ठूलो पर्दामा देखिन लागेका शाहरूख खान अभिनित फिल्म पठान सन् २०२१ मा होइन, सन् २०२२ मा रिलिज हुनेछ।’
एनडिटिभीका अनुसार तरूणको यो ट्विटसँगै भारतमा सामाजिक सञ्जालमा ह्यासट्याग 'पठान' ट्रेन्डिङमै आयो।
सन् २०१८ को डिसेम्बरमा सार्वजनिक फिल्म ‘जिरो’ पछि शाहरूख खान ठूलो पर्दामा देखिएका थिएनन्। फिल्मलाई निर्देशक आनन्द एल रायले निर्देशन गरेका थिए। झन्डै ३ वर्षको अन्तरालपछि शाहरूख ‘पठान’सँगै ठूलो पर्दामा देखिने भएपछि उनका फ्यान तथा शुभचिन्तकहरू खुशी छन्।
निर्देशक सिद्धार्थ आनन्द निर्देशित फिल्म ‘पठान’मा शाहरूख खानसँगै अभिनेता सलमान खान, जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोणको अभिनय हुनेछ।
प्रोडक्सन हाउस 'यश राज फिल्मस्' र 'रेड चिल्ली इन्टरटेनमेन्ट' बाट निर्माण भइरहेको ‘पठान’को रिलिज मिति पछाडि धकेलिए पनि 'यश राज फिल्मस्'ले सन् २०२१ मा ५ नयाँ फिल्म सार्वजनिक गर्ने तयारी गरेको छ।