भारतीय हास्यकलाकार कपिल शर्मा ह्वीलचेयरमा देखिनुको कारण खुलेको छ। कपिल सोमबार मुम्बई विमानस्थलमा ह्वीलचेयरमा देखिएपछि उनका फ्यान तथा शुभचिन्तकहरूले उनको स्वास्थ्यबारे निकै चासो देखाएका थिए।
कपिलले आफ्नो स्वास्थ्य ठीक भएको भन्दै ह्वीलचेयरमा बस्नुको कारण खुलाएको बलिउड हंगामाले जनाएको छ। उनले भनेका छन्, ‘मेरो स्वास्थ्यमा कुनै समस्या छैन। म ठीक छु। जिम जाँदा मेरूदण्डमा सामान्य दुखाइको समस्या आएको हो। केही दिनमा ठीक भइहाल्छ।’
कपिलले आफ्नोबारे चासो देखाएकोमा शुभचिन्तकहरूलाई धन्यवाद पनि दिएका छन्।
ह्वीलचेयरमा रहेका बेला कपिलले फोटोग्राफर र पापाराजीहरूलाई गाली गरेको भिडिओ पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।
बलिउड हंगामाले श्रोतका भनाइ उद्धृत गर्दै कपिल त्यस खालका व्यक्ति नभएका लेखेको छ। कपिल सबैसँग नम्र र आदरणीय भावमा बोल्ने उनीहरू दाबी गर्छन्।
भारतीय कमेडियन कपिल र उनकी पत्नी गिन्नीले हालै मात्र दोस्रो सन्तानलाई जन्म दिएका छन्। उनीहरूकी एक वर्षीया छोरी अनायरा पनि छिन्।