अभिनेता इरफान खानका छोरा बबिल खानले आफ्नो बुवाको सम्झनामा पुरानो ह्वाट्सएप मेसेज सेयर गरेका छन्। इरफानको मृत्युपछि पछिल्लो समय बबिलले बुवाको सम्झनामा बेलाबेलामा फोटाहरू पोस्ट गरिरहेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार बबिलले शनिबार भने इन्स्टाग्राममा इरफानले आफूलाई पठाएको मेसेजको स्क्रिनसट सेयर गरेका हुन्। बबिलले इरफानको नाम ‘बाबा’ भनेर सेभ गरेका छन्।
मेजेस मार्च १७, २०२० को छ। जसमा इरफानले बबिललाई लेखेका थिए, ‘बबिल, मलाई फोन गर। कहाँ छौं?’ लगत्तै इरफानले अर्को मेसेज गरेका छन्, ‘मलाई छिटो फोन गर, निकै जरूरी कुरा गर्नुछ।’
इरफानको मेसेजमा त्यस समय बबिलले कुनै प्रतिक्रिया जनाएको देखिएको छैन।
बबिलले इरफानसँगको यस्तो मेसेज फोनको पुरानो मेसेजहरू डिलिट गर्ने क्रममा भेटाएको फोटोसँगैको क्याप्सनमा लेखेका छन्।
‘मलाई कति गार्ह्रो भएको छ भन्ने म बुझाउन सक्दिनँ। म ह्वाट्सएपबाट नचाहिने मेसेजहरू डिलिट गर्दै थिएँ। त्यहीबेला यो मेसेज भेटाएँ,’ बबिलले क्याप्सनमा लेखेका छन्, ‘बुवालाई म यहीँ छु भन्दै मेसेज गर्न मात्र लागेको थिएँ।’
तर उनले मेसेज रिप्लाइ गर्नुअघि इरफानको मृत्युको खबर पुग्यो।
५४ वर्षीय इरफानको अप्रिल २९, २०२० मा न्युरोएन्डोक्राइन ट्युमरका कारण मुम्बईस्थित कोकिला वेन धिरूभाइ अम्बनी अस्पतालमा निधन भएको हो।
यसअघि पनि बबिलले इरफानको सम्झनामा इन्स्टाग्राममा पोस्ट गरेका थिए। उनले त्यसबेला लेखेका थिए, ‘मेरो सपनामा तपाईंको मृत्युबारे मलाई केही थाहा भएन। आज सपनामा तपाईंले हामीलाई छाड्दै हुनुहुन्छ भन्नुभयो। अनि मेरो हात लामो समयसम्म समाइ राख्नुभयो। तर यो सपना न हो।’
‘सपनाबीच फोन बज्यो। मलाई अर्को फिल्मको लागि प्रस्ताव आयो। तर खै तपाईं नै नभएपछि यी सब कुराले के अर्थ दिन्छ म जान्दिनँ बाबा। म बरू सपना नै देख्न रूचाउँछु,’ उनले लेखेका छन्।
पछिल्लो समय बबिलले सामजिक सञ्जालमा इरफानसँग सम्बन्धित कुराकानी र फोटोहरू सेयर गरिरहेका छन्। उनले गत नोभेम्बरमा पनि इरफानको अनुपस्थितिमा आफूहरूलाई गार्ह्रो भएको बताएका थिए।