निर्देशक संजयलीला भंसाली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’मा अभिनेता अजय देवगनले सहकार्य गर्ने भएका छन्। अजय र सजयले २२ वर्षपछि सहकार्य गर्न लागेका हुन्।
यसअघि उनीहरुले सन् १९९९ को सुपरहिट फिल्म ‘हम दिल दे चुके सनम’मा सहकार्य गरेका थिए।
‘गंगुबाई काठियावाडी’को मुख्य पात्रमा अभिनेत्री आलिया भट्टको अभिनय छ। फिल्मको टिजर गत बुधबार युट्युब च्यानल पेन मुभिजबाट सार्वजनिक भएको थियो। टिजर सार्वजनिक भएसँगै आलियाको अभिनयकाे तारिफ भइरहेको छ।
फिल्ममा उनी मुम्बईको कमाठीपुरस्थित एक वेश्यालयकी 'म्याडम'को भूमिकामा देखिएकी छन्। उनी त्यहाँकी ‘रानी’ हुन्। आलियाको यो अवतार दर्शकहरूका लागि नौलो हो। सेतो साडी र निधारमा ठूलो बिन्दी लगाएर हिँड्ने आलिया फिल्ममा गंगुबाई काठियावाडीको भूमिकामा छन्।
गंगुबाई काठियावाडी ६० को दशककी माफिया डन हुन्। उनलाई मुम्बईकी रानी भनेर समेत चिनिन्थ्यो। गंगुबाई काठियावाडीको पटकथा लेखक हुसेन जैदीको किताब ‘माफिया क्विन अफ मुम्बई’मा लेखिएको गंगुबाई काठियावाडीको कथामा आधारित छ।
फिल्म संजयलीला भंसाली र डा. जयन्तीलाल गडा (पेन स्टुडिओ) ले निर्माणमा बन्दैछ। 'गंगुबाई काठियावाडी' यही जुलाई ३० गतेदेखि सिनेमा हलहरूबाट प्रदर्शनमा आउनेछ।