बलिउड अभिनेत्री आलिया भट्टले आफ्नै प्रोडक्सन कम्पनी घोषणा गरेकी छन्। आलियाले आइतबार ट्विटरमार्फत नयाँ प्रोडक्सन कम्पनी 'इटर्नल सनराइन प्रोडक्सन'को सुरू गरेको बताएकी हुन्। भट्ट परिवारको विरासत धान्दै अब आलिया पनि फिल्म निर्माणतिर अग्रसर भएकी छन्।
ट्विटरमा पोस्ट गर्दै आलियाले लेखेकी छन्, 'म यो घोषणा गर्न पाउँदा निकै खुशी छु। प्रोडक्सन। इटर्नल सनसाइन प्रोडक्सन। अब हामी तपाईंलाई कथा सुनाउने छौं। रमाइला कथाहरू। काल्पनिक र सत्य घटनामा आधारित कथाहरू सुनाउने छौं। इटर्नलसनप्रोड।'
हाल संजयलीला भंसाली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’को टिजरपछि आलियाको चर्चा चुलिएको छ। फिल्मको मुख्य पात्रको भूमिकामा आलियाको अभिनयको तारिफ भइरहेको छ। 'गंगुबाई काठियावाडी' यही जुलाई ३० गतेदेखि सिनेमा हलहरूबाट प्रदर्शनमा आउनेछ।
यसबाहेक आलिया फिल्म 'ब्रह्मास्त्र' र 'डार्लिङ्स'को काममा व्यस्त छिन्। 'ब्रह्मास्त्र' आयान मुखर्जीले निर्देशन गरेका हुन्। 'डार्लिङ्स'बाट भने जसमित के. रिनले निर्देशकको रूपमा डेब्यू गर्दैछन्।