भारतको आयकर विभागले निर्देशक अनुराग कश्यप, अभिनेत्री तापसी पन्नुलगायत कलाकारको घरमा छापा मारेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार विभागले बुधबार अनुरागको प्रोडक्सन कम्पनी 'फ्यान्टम फिल्म' सम्बन्धित व्यक्तिहरूको घरको खानतलासी गरेको हो। खानतलासीका क्रममा विभागले निर्माता विकास बेहल र मधु मान्तेन घरमा समेत छापा मारिएको छ।
'फ्यान्टम फिल्म' सन् २०१८ मै बन्द भएको थियो। यसै सन्दर्भमा विभागले मुम्बईं र पुनेका विभिन्न ठाउँमा छापा मारेको छ।
रिलायन्स इन्टरटेन्टमेन्टका सिइओ सिभासिस सरकार, एक्सिडका सिइओ अफ्सर जैद, क्वानका सिइओ विजय सुब्रामण्यमको घरमा पनि विभागले छापा मारेको जनाइएको छ।
एक्सिड इन्टरटेन्टमेन्ट र क्वान इन्टरटेन्टमेन्ट मुम्बईको सबैभन्दा लोकप्रिय सेलिब्रेटी म्यानेजमेन्ट एजेन्सी हुन्। आयकर विभागले कर छलेको आरोपमा उनीहरुकाे घरमा छापा मारेको हो।