अभिनेत्री तापसी पन्नु र निर्देशक अनुराग कश्यपले ६५० करोड भारु बराबरको आयकर छलेको आशंका गरिएको छ। भारतको आयकर विभागले छानबिन गर्दा उक्त आशंका गरिएको हो।
विभागले कर छलेको आरोपमा बुधबार कश्यप, तापसीलगायत कलाकारको घरमा छापा मारेको थियो। हिन्दुस्तान टाइम्सका अनुसार विभागले अनुरागको प्रोडक्सन कम्पनी 'फ्यान्टम फिल्म' सम्बन्धित व्यक्तिहरूको समेत खानतलासी गर्यो।
खानतलासीक्रममा विभागले निर्माता विकास बेहल र मधु मान्तेनको घरमा समेत छापा मारेको थियो। 'फ्यान्टम फिल्म' सन् २०१८ मै बन्द भएको हो। तर विभागका अनुसार कम्पनीको शेयर होल्डरहरूले भारू ६५० करोड बराबरको आयकर छलेको आशंका गरिएको छ।
विभागका अनुसार निर्माता र निर्देशकहरूले गैरकानुनी रूपमा खर्च गरिएको पनि भेटिएको छ। पैसासँगै आइटी विभागले प्रोडक्सन हाउसबाट डिजिटल डाटाको अंशका रूपमा इमेल र ह्वाट्सएप च्याटहरू पनि बरामद गरेको छ।