बलिउड फिल्म 'कयामत से कयामत तक'बाट डेब्यू गरेका अभिनेता आमिर खान आइतबारदेखि ५६ वर्ष लागेका छन्। आमिरको जन्मदिनमा फिल्म क्षेत्रका अन्य कलाकार र शुभचिन्तकहरूले उनलाई शुभकामना दिइरहेका छन्।
सन् १९८८ मा प्रदर्शनमा आएको ‘कयामत से कयामत तक’ बाट आमिरसँगै अभिनेत्री जुही चावलाले पनि डेब्यू गरेकी थिइन्।
आमिर र जुहीले 'इश्क’, ‘अन्दाज अप्ना अप्ना’, ‘तुम मेरे हो’, 'लभ लभ लभ' जस्ता फिल्ममा सँगै काम गरेका छन्। आफ्नो समयमा निकै चर्चित यो जोडीको मित्रता पनि रोचक छ।
आमिरको जन्मदिन अवसरमा जुहीले उनलाई पहिलो पटक भेटेको सम्झना गरेकी छन्। एक अन्तर्वार्तामा जुहीले आमिरबारे बोल्दै भनिन्, ‘मैले सुरूमा आमिरलाई फिल्म सेटमा देखेकी होइन। मैले उनलाई संवादहरू कन्ठ गराउने सहयोगी ठानेकी थिएँ।'
जुहीका अनुसार उनलाई आमिरले नै फिल्मको दृश्यमा कसरी प्रस्तुत हुने भन्ने सिकाएका थिए। फिल्म नासिर हुसेनले निर्माण गरेका हुन्।
‘फिल्म छायांकन सुरू भएपछि बल्ल आमिर फिल्मको मुख्य भूमिकामा छन् भन्ने थाहा पाएकी थिएँ,’ जुहीले टाइम्स अफ इन्डियालाई भनेकी छन्।
जुहीले आइतबार भने आमिरलाई जन्मदिनको शुभकामनासँगै दिँदै उनको तारिफ गरेकी छन्। उनले भनेकी छन्, ‘म उनलाई कसैसँग तुलना गरिरहेकी छैन। तर उनमा साँच्चै विभिन्न विषयमा राम्रो ज्ञान छ। चाहे त्यो राजनितिक विषय होस् या खेलकुद अथवा इतिहास। आमिर हरेक कुरालाई गहन गर्छन् अनि मात्रै बोल्छन्।’
हुन पनि आमिर अहिले अभिनेता मात्र रहेनन्। उनी फिल्म निर्देशक, निर्माता, कार्यक्रम होस्ट, लेखक समेत हुन्।
जुहीले आमिरलाई हरेक पटक पर्दामा देख्दा हलिउड अभिनेता टम ह्यांक्सको याद दिलाउने समेत बताइन्।
सन् १९९७ मा फिल्म ‘इश्क’मा काम गरिरहेको समय दुई जनाबीच मनमुटाव भएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार आमिरले वृत्तचित्र ‘रुबरु रोशनी’बारे बोल्दै एक कार्यक्रममा जुहीसँगको झगडाबारे खुलेका हुन्। ‘रुबरु रोशनी’को अतिव्यापी विषय क्षमा गर्नु थियो।
‘फिल्म इश्कको छायांकन भइरहेको समय हामीबीच सानो कुराले झगडा भएको थियो। त्योबेला मभित्रको अहंकारले गर्दा म जुहीसँग अब कहिल्यै बोल्दिनँ भन्ने भइसकेको थियो,’ आमिरले भनेका थिए, ‘सेटमा हुँदा पनि उनीबाट परै बस्थेँ। अहिले सोच्दा मैले किन त्यस्तो गरेँ भन्ने थाहा छैन।’
आमिरको यस्तो व्यवहार भए पनि जुही उनको छेउमा आएर बस्थिन् रे। ‘तर म उठेर हिड्थेँ। उनीभन्दा ५० फिट टाढा गएर बस्थेँ। फिल्ममा बाहेक अरू बेला म उनीसँग बोल्दै बोलिनँ,’ कार्यक्रममा बोल्दै आमिरले भनेका थिए।
आमिरका अनुसार त्यसपछि झन्डै ७ वर्ष उनी जुहीसँग राम्ररी बोलेनन्। सन् २००२ मा जब आमिरको रिना दत्तसँग सम्बन्ध- बिच्छेद भयो त्यसपछि जुही आफैले आमिरसँग सम्पर्क राखिन्।
‘रिना र मेरो सम्बन्ध-बिच्छेदबारे थाहा पाएपछि जुहीले आफूसँग भेट्न भन्दै सम्पर्क गरेकी थिइन्। जुहीले हामी दुवैसँग आत्मीय सम्बन्ध राखिसकेकी थिइन् र हामीबीचको कुरा मिलाउन खोजेकी थिइन्। मैले फोन उठाउदिनँ भन्ने थाहा हुँदाहुँदै जुहीले त्यसरी फोन गर्दा मैले हाम्रो मित्रताको अर्थ बुझेँ,’आमिरले भनेका छन्।