अभिनेता तथा मक्कल निधि मैयम प्रमुख कमल हसनको कारमा आइतबार राति हमला भएको छ। हसन कांचीपुरमको चुनाव प्रचारमा सहभागी भई चेन्नई फर्कंने क्रममा हसनको कारमा हमला भएको इन्डियन एक्सप्रेसले लेखेको छ।
खबर अनुसार एमएनएम नेता र सेवानिवृत्त आईपीएस अफिसर एजी मौर्यले ट्विट गरेर उनका पार्टी प्रमुख हसनको कारमा हमला भएको बताएका हुन्। अज्ञात युवकद्वारा भएको सो घटनामा हसनलाई कुनै चोट नलागे पनि उनको गाडीको विन्डस्क्रिन भने फुटेको छ।
मौर्यले सो घटनापछि हसनको पार्टीका कार्यकर्ता र भीडले आक्रमणकारीलाई पिटेको र हसनमाथि 'आक्रमण गर्न खोज्ने' मानिसलाई प्रहरीको जिम्मा लगाइएको जानकारी गराए।
हसन आगामी अप्रिल ६ मा हुने तमिलनाडु विधानसभा चुनाव लड्दै छन्।