'द ह्वाइट टाइगर'बाट चम्केका अभिनेता आदर्श गौरव एकपछि अर्को अन्तर्राष्ट्रिय प्रशंसा बटुलिरहेका छन्। चाँडै आयोजना हुने 'बाफ्टा' र 'फिल्म इन्डिपेन्डेन्ट स्पिरिट अवार्ड'मा मनोनित उनी हालै एसियन वर्ल्ड फिल्म फेस्टिभलमा 'द राइजिङ स्टार अवार्ड'बाट सम्मानित भएका छन्।
गत जनवरी २२ मा सार्वजनिक नेटफ्लिक्स फिल्म 'द ह्वाइट टाइगर' ओस्कर अवार्डमा बेस्ट अडप्टेड स्क्रिनप्ले विधामा मनोनित भइसकेको छ। नेटफ्लिक्समा यो फिल्म सबभन्दा लोकप्रिय बनेको थियो।
रमिन बहरानीको निर्देशनमा तयार भएको यो फिल्म लेखक अरविन्द अडिगाको ‘द ह्वाइट टाइगर’ उपन्यासमा आधारित छ। ‘म्यान बुकर प्राइज’ पुरस्कार पाएको यो उपन्यास पहिलो पटक सन् २००८ मा प्रकाशन भएको थियो।
उपन्यास र फिल्ममा बलराम हलवाई मुख्य पात्र छन्। जो साधारण सवारी चालकबाट सफल व्यापारी बन्छन्। उनी कसरी सफल हुन्छन्, आफ्नो स्थान बढाउन के-के गर्छन् भन्ने घटनाक्रममा उपन्यास बुनिएको छ। फिल्ममा पनि उपन्यासमा जस्तै घटनाक्रम देखाइएको छ।
फिल्ममा अभिनेता राजकुमार राव र अभिनेत्री प्रियंका चोपडाको पनि अभिनय छ। २६ वर्षीय आदर्श गौरवले किशोर अवस्थामै बलिउड प्रवेश गरेका थिए। त्यतिबेला उनी १४ वर्षका थिए। शाहरूख खानको सन् २०१० मा सार्वजनिक ‘माइ नेम इज खान’मा उनी फुच्चे शाहरूख बनेका थिए।