नराम्रै खबरका कारण भए पनि आलिया भट्ट अभिनित 'गंगुबाई काठियावाडी' फिल्म सुरुदेखि चर्चामा छ। फिल्मले फेरि अर्को झमेला भोग्नु परेको छ।
टाइम्स अफ इन्डिया अनुसार मुम्बईको महानगर मजिस्ट्रेट अदालतले अभिनेत्री भट्ट र निर्देशक भन्सालीलाई मानहानी मुद्दाको सम्बन्धमा आदेश जारी गरेको छ। गंगुबाईका धर्मपुत्र बाबुराव शाहले मुद्दा दायर गरेका हुन्।
उनले गंगुबाई काठियावाडी' फिल्मले आफ्नो परिवारलाई गलत रुपमा चित्रण गर्ने र तथ्य तोडमरोड भएको बताएका छन्। यो फिल्म हुसेन जैदीको पुस्तक, मुम्बईकी 'माफिया क्विन्स'को अध्यायमा आधारित छ। यो मुद्दामा उनलाई पनि अदालत बोलाइएको छ।
रिपोर्टका अनुसार आलिया भट्ट, संजय लीला भंसाली र हुसेन जैदीलाई आगामी मे २१ सम्म अदालतमा हाजिर हुन भनिएको छ। यसअघि बाबुराव शाहले मुम्बईको नागरिक अदालतमा फिल्म बनाउन र प्रदर्शन गर्न रोक लगाइयाेस् भनेर निवेदन दिएका जसालाई अदालतले खारेज गरेको थियो।
'गंगुबाई काठियावाडी' वेश्यालय सञ्चालकको कथा हो। यो भूमिका अभिनेत्री आलियाले निर्वाह गरेकी छन्। फिल्ममा अजय देवगनको पनि मुख्य भूमिका छ। फिल्म जुलाइमा सार्वजनिक हुने कार्यक्रम छ जुन विवाद र कोरोनाका कारण पर धकेलिने सम्भावना छ।