भारतीय तमिल गायक-र्यापर अरिभुको पूर्खा दुई सय वर्षअघि भूमिहीन मजदुरका रूपमा श्रीलंका पुगेका थिए। त्यसबेला बलजफ्ती श्रीलंकाका चिया बगानमा काम गर्न लगिने मजदुरमा अरिभुकी हजुरआमा भल्लीअम्मा पनि थिइन्।
उनीहरु ६० वर्षअघि 'सिरिमा-शास्त्री' सम्झौतापछि भारत फर्के। त्यसबेला अरिभुकी हजुरआमाले आफ्ना दिदी बहिनीलाई बाई भन्ने मौकासमेत पाइनन्। आजका दिनसम्म उनीहरु जीवित वा मृत छन् भन्ने अरिभुको परिवारलाई थाहा छैन।
संयोगवश र्यापर अरिभुले विस्थापित पूर्खाले पाइला टेकेको भूमि श्रीलंका जाने अवसर पाए। यो भ्रमण अनुभव उनका लागि भावनात्मक पुनर्खोजको माध्यम बन्यो। यो अनुभूति र खोजलाई अरिभुले गीतमा ढाले। अरिभुले आफ्ना पूर्खाको गौरव र पीडा मिसाएर लेखेको यो गीत इन्जोय इन्जामी अहिले 'भाइरल' छ।
गत महिना युट्युब मार्फत सार्वजनिक भएको तमिल भाषाको 'इन्जोय इन्जामी' (कुक्कु कुक्कु) ले एक महिनामा झन्डै ११ करोड बढी भ्यूज पाइसकेको छ। संसारभरका दर्शकले रुचाएको यो गीत आमस्रोतादेखि बौद्धिक जमातसम्मले मन पराएका छन्। अरिभु र गायिका धीले गाएको गीतमा संतोष नारायणको संगीत छ।
सुन्दा नाचौं नाचाैं बनाउने यो गीतको संगीत रमाइलो खालको छ। तर यो हल्काफुल्का वा रमाइलो गीत भने हैन। अरिभुकाे भोगाइबाट जन्मिएको यस गीतलाई उनले राजनीतिक गीत भन्दै आएका छन्। पछिल्लो हिट फिल्म मास्टरको 'वाथी राईड'का लेखक तथा गायक अरिभुका गीतमा राजनीतिक चेत भेटिन्छ।
'जय भीम एन्थम', 'जय भीम थलाइमुराई' र 'ओनरु सेर' जस्ता र्याप गीतमा जातीय मुक्तिको मुद्दा जोड्दै आएका उनको यो नयाँ गीतमा पनि स्वतन्त्रता र समतामूलक समाजको चाहना प्रकट छ। गीतले जात, धर्म, लिंग र सम्पत्तिको चक्करबाट टाढा प्रकृति र मान्छेबीचको सामञ्जस्यपूर्ण समयमा लैजान्छ।
गीतको शब्दजस्तै भिडिओमा पनि पूर्वज, प्रकृति र जराप्रतिको प्रेम झल्किएको छ। संगीतमा लोकबाजाहरु प्रयोगसँगै लोकजीवनको खुसीयाली पनि मनाइएको छ।
हरेक उमेर समूहलाई नाचूँ नाचूँ झैं बनाउन सक्ने यो गीतको भिडिओ कृष्णनले निर्देशन गरेका हुन्। यो संगीतकार एआर रहमानको म्युजिक कम्पनी मज्जाबाट सार्वजनिक पहिलो गीत हो।