देवी प्रसादकी नातिनी रिंकुको अपहरणको घटनाले सन् २००० को चर्चित बलिउड फिल्म 'हेराफेरी' लाई त्रुटीहरुको कमेडी बनाइदिन्छ। प्रियादर्शन निर्देशित 'हेराफेरी'मा अक्षय कुमार, सनील शेट्टी र परेश रावलसँग अभिनय गरेकी रिंकुको भूमिकामा देखिएकी बालकलाकार एन एलेक्सिया अनरा अहिले पर्यावरणवादी र उद्यमी बनिसकेकी छन्।
द इन्डियन एक्सप्रेसका अनुसार चेन्नई निवासी अनरा अचेल आफूलाई भूतपूर्व कलाकार भन्छिन्। अनरा हाल 'सस्टेन्याबिलिटी कन्सल्टेन्ट' का रुपमा सक्रिय छिन्। 'टेक मी ब्याक चेन्नई' र 'वेस्टेड ३६० सोलुसन्स'जस्ता वातावरण संरक्षण अभियानकी पहलकर्ता पनि हुन्।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा राख्ने हरेकजसो तस्बिरले उनको वर्तमानको झलक दिन्छ। तर कहिलेकाहीँ उनी आफ्नो अभिनयसँग जोडिएका सन्दर्भबारे पोस्ट गर्न छुटाउँदिनन्।
'अभ्भायी सांगमुघी' फिल्मको अभिनेता कमल हसनसँग खिचेको तस्बिर राख्दै उनले लेखेकी छन्, 'मलाई अभ्भायी सांगमुघी फिल्मको तस्बिर राख्नु भन्दै धेरै डिएम आउँछ। यो म हुँ जो पहिलो पटक क्यामेरा सामना गर्ने सामान्य काम गरेकी थिएँ, जुन जीवनभरको सम्झना बन्यो।'
अर्को पोस्टमा उनले आफूले अर्को फिल्म कसरी पाइन् भन्नेबारे रमाइलोसँग लेखेकी छन्, 'यो सुट मेरो जीवनकै प्रिय सम्झना हो। यो फिल्म पूरै शामूसँग खिचिएको थियो। मुख्य अभिनेत्रीको मृत्यु भएपछि यसको रिमेक बन्यो। यही बेला हामी दुई उनको बहिनीको भूमिकाका लागि छानिएको थियौं। मेरी आमा 'अभ्भायी सांगमुघी'पछि मैले अभिनय नगरोस् भन्ने चाहनुहुन्थ्यो। तर मैले दक्षिण भारतका सबैभन्दा प्यारा बालकलाकारहरुसँग काम गर्ने आग्रह गरेँ।'
कलाकार र फिल्मबारे जोडिएका सन्दर्भ पोस्ट गर्ने क्रममा अनराले हेराफेरी अभिनेता अक्षय कुमारसँग छायांकन गर्दाको तस्बिर राख्दै लेखेकी छन्, 'गरेका थोरैमध्येको सबैभन्दा राम्रो काम।
'हेराफेरी' २० पुगेको अवसरमा गत वर्ष एनराले अक्षय कुमारले कसरी बच्चा र उनकी आमासँग प्रयांक गर्थे भनेर बलिउड हंगामालाई बताएको इन्डियन एक्सप्रेसले छापेको छ।
'हेराफेरी'को सेटमा म चकलेट र लिपस्टिक ललिपप लैजान्थे। सुटिङमा जाँदा मेरी आमाले मलाई अलमलाउन चकलेट किन्दिनु हुन्थ्यो। मलाई याद छ जब अक्षय कुमार र सुनील सेट्टीसँग हुन्थे उनीहरुलाई ती चकलेट दिन्थेँ। र अरु जो जो हुन्थे सबैलाई बाँड्थें। रमाइलो कुरा, मलाई बलिउड उद्योगबारे थाहा थिएन। अक्षय कुमार र सुनील सेट्टी को हुन् भन्ने थाहा थिएन। त्यसैले म नर्भस हुँन्नथें।'