भर्खरै कोरोना संक्रमणबाट स्वास्थ्य लाभ गरेकी बलिउड अभिनेत्री भूमि पेड्नेकर कोरोनाको मारमा परेकाहरूलाई सहयोग गर्न सक्रिय भएकी छन्। बलिउड हंगामा अनुसार कोभिड १९ को दोस्रो लहरले धेरैलाई सहयोगको खाँचो रहेको र आवश्यक समयमा सहयोग पुगे मान्छेको ज्यान बच्ने भएकोले अभिनेत्री भूमिले आफू सक्रिय भएको बताएकी छन्।
भूमिले इन्स्टाग्राममा आफ्ना प्रशंसकलाई औषधि वा अरु कुनै कुराकाे आवश्यक परे सोझै मेसेज पठाउन अनुरोध गरेकी छन्।
उनले लेखेकी छन्, 'सबै प्रिय कोभिड लडाकुहरु, भारतभर कोभिड १९ को दोस्रो लहर फैलिरहेको सन्दर्भमा मैले एउटा हाइलाइट सुरु गरेको छु जहाँ म सुबिधा प्रदान गर्न सक्छु। म यस मार्फत चिकित्सा आपूर्ति, प्लाज्माका लागि अनुरोध र दाताहरूसँग पहुँच भएका स्रोतहरू पहिचान गर्नेछु। मसम्म आइपुगेका फोन नम्बर र सम्पर्कमध्ये केही नम्बर गलत पनि हुन सक्छन् जुन म जाँचबुझ गर्नेछु।'
'यदि तपाईंले हाइलाइटमा कुनै जानकारी अनुपयोगी र गलत फेला पार्नुभयो भने कृपया मलाई बताउनुहोस्। यहाँ उपलब्ध सूचनामध्ये काम नलाग्ने वा गलत पाए कृपया मलाई जानकारी दिनुहाेला म तिनलाई तुरुन्तै हटाउनेछु। हाम्रा अगाडि आएको ठूलो संकटविरुद्ध यो मेरो सानाे पहलमात्र हो। कृपया धैर्यसाथ बसौं र आशा नमारम्। यो लडाइँमा हामी साथ छौं। माया, भूमि।,' उनले थप लेखेकी छन्।
एकपछि अर्का कलाकारलाई कोरोना देखिएपछि बलिउड कलाकारहरु बिरामीलाई सहयोग पुर्याउन सक्रिय भएका छन्। 'दम लगाके हैंसा' र 'बधाइ हो' जस्ता फिल्मकी अभिनेत्री भूमिको यो पहल तिनैमध्ये एक हो।