बलिउड अभिनेत्री जयाप्रदा र श्रीदेवी आफ्नो समयका प्रतिस्पर्धी अभिनेत्री थिए। एकअर्कासँग नबोल्ने उनीहरुबीच नृत्य र पहिरनमा समेत प्रतिस्पर्धा चल्थ्यो।
प्रतिस्पर्धी भए पनि यी दुई अभिनेत्रीले धेरै फिल्ममा सँगसँगै काम गरेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार सन् १९८० को दशकमा जयाप्रदा, श्रीदेवी र जितेन्द्र एउटै फिल्ममा देखिनु सामान्य कुरा थियो। यही समयमा जितेन्द्रसँग श्रीदेवीले १८ र जयाप्रदाले ९ फिल्म खेलेका थिए।
तोहफा, औलाद, मकसद, मजाल, मै तेरा दुश्मन, मवाली आदि जयाप्रदा, जितेन्द्र र श्रीदेवीले सँगै काम गरेका फिल्म हुन्। हालै जयाप्रदाले दिवंगत सहकर्मी श्रीदेवीबारे रोचक किस्सा सार्वजनिक गरेको डिएनए इन्टरटेनमेन्टले छापेको छ।
जयाप्रदा, श्रीदेवी, राजेश खन्ना र जितेन्द्र अभिनित 'मकसद' फिल्म छायांकनको समय थियो। जयाप्रदा र श्रीदेवी एकअर्कासँग नबोलेको थाहा पाएपछि राजेश खन्ना र जितेन्द्रले एउटा योजना बनाए।
'हामी बीच कुनै व्यक्तिगत झगडा थिएन तर हाम्रो केमेस्ट्री कहिल्यै मिलेन। लुगादेखि नृत्यमा हामी एकअर्काका प्रतिस्पर्धी भए पनि कहिल्यै आँखा जुधाएनौं,' उनले भनिन्, 'हरेक पटक फिल्मको सेटमा हामी परिचय गर्थ्यौं र एकअर्कालाई नमस्ते गरेर आफ्नो काममा लाग्थ्यौं।'
टेलिभिजन कार्यक्रम इन्डियन आइडलमा श्रीदेवीलाई सम्झदै उनले थप भनिन्, 'मकसद फिल्म छायांकनको त्यो क्षण म अझै सम्झन्छु जब राजेश खन्ना र जितेन्द्रले हामीलाई मेकअप कोठामा एकघन्टा थुनिदिएका थिए। तर श्रीदेवी र म एकशब्द बोलेनौं र त्यसपछि अरुले हामीलाई बोलाउने प्रयास त्यागे।'
सन् २०१८ मा श्रीदेवीको निधन भयो। जयाप्रदाका अनुसार अचेल त्यसबेला श्रीदेवीसँग नबोलेकोमा उनी बेलाबेला चुकचुकाउँछिन्।