चर्चित संगीत समूह 'साबरी ब्रदर्स' का सदस्य फारिद साबरीको बुधबार निधन भएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार फारिदलाई निमुनिया भएपछि जयपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो। बुधबार बिहान ८ बजे उनले अन्तिम श्वास फेरेको जनाइएको छ। उनी ५८ वर्षका थिए।
उनको मृत्यु पुष्टि गर्दै ब्यान्डका सदस्य तथा भाइ अमिन साबरीले टाइम्स अफ इन्डियालाई भने, 'उनी डायबेटिजका बिरामी थिए र किडनीमा समस्या देखिएको थियो। उनलाई केही दिनअघि निमोनिया भयो।'
उनले भनेका थिए, 'मंगलबार उनको स्वास्थ थप बिग्रियो। धेरै कुरा निकै छिटो भयो।'
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आफन्त र सीमित निकट मानिसहरुको उपस्थितिमा हिजै उनको पार्थिव शरीर मिस्किन शाह कब्रिस्तानमा गाडियो।
५० वर्षभन्दा पुरानो समूह 'साबरी ब्रदर्स' सुफी-कव्वाली गायनका लागि भारत र पाकिस्तानका स्रोतामाझ प्रसिद्ध छ। समूहले यूरोप र अमेरिकामा समेत कन्सर्ट गरेर अन्तर्राष्ट्रिय ख्याती कमाएको छ।
फारिद साबरीले उनका बुबा सईद साबरी र गायिका लता मंगेशकरका साथमा गाएको 'हिना' फिल्मको 'देर ना हो जाए कहीं देर ना हो जाए' गीत निकै चर्चित छ।