बलिउडका चर्चित संगीतकार श्रवण कुमार राठोडको कोरोना संक्रमणका कारण निधन भएको छ। इन्डियन एक्सप्रेसका अनुसार श्रवणका छोरा हिजो बिहीबार राति मुम्बईको एसएल रहेजा अस्पतालमा उपचारका क्रममा श्रवणको निधन भएको उनका छोरा संजीव राठोडले पुष्टि गरेका हुन्।
कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि श्रवणलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। उनी ६७ वर्षका थिए। खबर अनुसार डायबिटजका रोगी उनको फोक्सोमा समस्या देखिएको थियो।
श्रवण सन् १९९० को दशकको बलिउडका सर्वाधिक सफल संगीतकार हुन्। संगीतकार नदीमसँग मिलेर काम गरेका उनको यी दुई संगीतकार नदीम-श्रवण जोडीका रुपमा प्रसिद्ध छन्।
सन् १९९० को दशकमा सार्वजनिक 'आशिकी' फिल्म यसको गीत संगीतकै कारण हिट भएको थियो। श्रवणलाई संगीतकार नदीमसँग मिलेर बलिउडमा 'आशिकी' मार्फत मेलोडियस संगीतको ट्रेन्ड फिर्ता ल्याएको श्रेय दिइन्छ। यसपछि नदीम-श्रवण जोडीले एक दशकभन्दा लामो समय आफ्नो दबदबा कायम राख्दै सयौं फिल्ममा संगीत दियो।
साजन, सडक, दिवाना, परदेश, राजा हिन्दुस्तानी, फूल और काँटे, धड्कनलगायत दर्जनौं फिल्मका संगीत चर्चित छन्।
श्रवणको निधनमा बलिउडका संगीतकार तथा कलाकारहरुले शोक व्यक्त गरेका छन्। श्रवणका सहयात्री नदीमले भने, 'मेरो सानु अब रहेन। हामीले आफ्नो सफलता र असफलता मार्फत सिंगो जीवन सँगै देख्यौं। हामी एकअर्काबाट धेरै तरिकाले सिक्यौं। भौतिक रुपमा नजिक नहुँदा पनि एक अर्कासँग हामी कहिल्यै सम्पर्कविहीन भएनौं। धेरै वर्ष सँगै काम गरेको मेरो साथी मसँग छैन। ठूलो रिक्तता महशुस गरेको छु। म गहिरो शोकमा छु।'