अभिनेता नवाजुद्दिन सिद्दिकी बलिउडका केही चर्चित कलाकारहरुसँग रिसाएका छन्। उनी कोरोना महामारीका बेला मलेसियामा बिदा मनाएको भन्दै सामाजिक सञ्जालमा तस्बिर राख्ने कलाकारहरूसँग रिसाएका हुन्।
अभिनेता नवाजुद्दिनले कोरोना महामारीको संकटका बेला ती कलाकारहरुले असंवेदनशील व्यवहार देखाएको भन्दै कडा टिप्पणी गरेका छन्।
'यी मनोरञ्जन क्षेत्रका कलाकारहरुले यस्तो बेला बिदा मनाएको भन्दै तस्बिर राखिरहेका छन् जुन बेला संसार र भारत खराब परिस्थितमा छ,' उनले भने, 'मान्छेसँग खाना छैन तर तपाईंहरु पैसा उडाइरहनुभएको छ। केही त शरम गर्नुस्।'
उनले थप भने, 'जताततै पीडा छ। कोरोना संक्रमितको संख्या नियन्त्रण गर्न नसिकने गरी बढिरहेको छ। कृपया पीडामा भएकाहरुलाई चोट पुर्याउने काम नगर्नुस्। मानवीयता देखाउनुस्।'
उनले बिदामा जानु गलत नभए पनि सामाजिक सञ्जालमा प्रचार गर्नु तमाशा देखाउनु सरह भएको बताए।
यतिबेला भारत कोरोनाको दोस्रो लहरले ठूलो संकट भोगिरहेको छ। भारतमा गत शुक्रबार बिहान ९ देखि शनिबार बिहान ९ बजेसम्म ३ लाख ४६ लाख कोरोना बिरामी थपिएको थियो।
एकै दिन यति धेरै कोरोना संक्रमित भेटिने संसारकै पहिलो देश बनेको भारत यतिबेला उच्च जोखिममा छ। सर्वसाधारणदेखि केही भारतीय कलाकारहरु समेतको निधन भइसकेको छ। कोरानाका कारण हालसम्म करिब २ लाख भारतीय नागरिकले ज्यान गुमाइसकेका छन्। यही सन्दर्भमा नवाजुद्दिनले आफ्नो आक्रोश पोखेका हुन्।
भारतमा कोरोनाको दोस्रो लहर फैलिएयता धेरै बलिउड कलाकारले मलेसिया पुगेर सामाजिक सञ्जालमा तस्बिर राखेका छन्। मलेसिया पुग्ने कलाकारमा जान्हवी कपुर, श्रद्धा कपुर, सारा अली खान, रनवीर कपुर, आलिया भट्ट, टाइगर श्राफ, दिशा पटानी, लगायत छन्। नवाजुद्दिनको आक्रोश यिनै कलाकारलक्षित छ।