कोरोना महामारीको दोस्रो लहरले भारतमा ल्याएको संकटले सिनेमा र टेलिभिजन क्षेत्रका काम नराम्ररी प्रभावित भएका छन्। यस क्षेत्रमा आबद्ध लाखौं कलाकार, प्राविधिक र मजदुर प्रभावित भएपछि यसले भारतको अर्थतन्त्रमा समेत नराम्रो असर पारेको छ।
मनोरञ्जन क्षेत्रको काम ठप्प भएको यो समयमा भारतीय फिल्म निर्माण र वितरण कम्पनी यश राज फिल्म्सले फिल्म उद्योगमा दर्ता भएका ३० हजार सदस्यलाई कोरोना विरुद्ध खोप लगाउने जिम्मेवारी लिँदै यसको खर्चसमेत जुटाउने भएको छ।
बलिउड हंगामाका अनुसार यश राज फिल्म्सले सिनेमा उद्योगमा दर्ता भएका ३० हजार कलाकार, प्राविधिक तथा मजदुरहरुलाई खोप लगाउने खर्च व्यहोर्ने छ।
यश राज फिल्म्सका वरिष्ठ उपाध्यक्ष अक्षय विधानीले आफ्नो चिठीमा लेखेका छन्, 'फिल्म उद्योग अभूतपूर्व संकटबाट गुज्रिरहेको छ। यसलाई चाँडो भन्दा चाँडो सुचारु गर्नु जरुरी छ ताकि हजारौं कामदारले आफ्नो जीविका सुरु गरी आफ्नो परिवारको सुरक्षा गर्न सक्नेछन्। यश चोपडा फाउण्डेसन मार्फत यश राज फिल्म्स यसका लागि सहयोग गर्न चाहन्छ।
हामीले महाराष्ट्रका माननीय मुख्य मन्त्रीलाई दर्ता भएका ३० हजार मजदुरहरुलाई कोभिड-१९ विरुद्धको खोप खरिद गर्न अनुमति दिन अनुरोध गरेका छौं।'
महाराष्ट्रमा हाल दोस्रो चरणको लकडाउन चलिरहेको छ। फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइजलाई दिइएको एक पत्र अनुसार यशराज फिल्म्सले ३० हजार सदस्यलाई मिडिया एन्ड इन्टरटेनमेन्ट उद्योगको निःशुल्क खोप लगाउने निर्णय गरेको छ। यसका लागि उनीहरूले महाराष्ट्रका मुख्यमंत्री उद्धव ठाकरेसमक्ष ६० हजार खोप खरिद गर्ने अनुमति दिन अनुरोध गरेका छन्।
'खोप केवल रोगसँग लड्न मात्र नभई राज्यको खस्कँदै गइरहेको अर्थतन्त्र विरूद्ध लड्न पनि महत्वपूर्ण छ,' पत्रमा लेखिएको छ।