बलिउड अभिनेत्री कंगना रनावत विवाद आइरहनु नयाँ कुरा भएको छैन। कयौंपटक आफूले बोलेका कुराबाट उनी चर्चमा परिरहेकी हुन्छिन्।
यसपटक भने कंगना आफ्नो पासपोर्टको कारण अर्को झमेलामा फसेकी छिन्।
भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार पासपोर्ट विभागले अभिनेत्री कंगनाको पासपोर्ट नवीकरण गर्न नमानेपछि उनी अदालत पुगेकी छिन्।
कंगना यही जुन १५ मा आफ्नो नयाँ फिल्म ‘धाकड’को सुटिङका लागि हंगेरी जाने तयारीमा थिइन्। उनको पासपोर्टको समय सेप्टेम्बरमा सकिने भएकोले नवीकरणका लागि विभाग पुगेकी थिइन्। तर यता कंगनाको नाममा बान्द्रा प्रहरी स्टेसनमा उजुरी दर्ता भएको छ जस कारण विभागले उनको पासपोर्ट नवीकरण गर्न नमानेको हो।
बलिउडलाई बदनाम गर्ने र धार्मिक समुदायबीच विभाजन, घृणा फैलाउन खोज्ने आरोपमा गत वर्ष कंगनाविरुद्ध बान्द्रा प्रहरीमा उजुरी दर्ता गरिएको थियो।
प्रहरीमा उजुरी दर्ता भएरै विभागले आफ्नो पासपोर्ट नवीकरण गर्न नमान्नु गलत रहेको भन्दै उनी अदालत पुगेकी थिइन्।
उनको उजुरीको सुनुवाइ जुन १५ मा नै भएको थियो तर उनले बुझाएको आवेदन स्पष्ट नभएको भन्दै अदालतले म्याद थपेर जुन २५ गते पुर्याएको छ।
पासपोर्ट नवीकरण नहुँदा कंगना आफ्नो सुटिङका लागि बाहिर जान पाएकी छैनन्। अदालतले दिएको नयाँ मितिपछि झन् उनको सुटिङ एक हप्ता पछाडि सरेको छ।
यही आक्रोशमा कंगना फेरि सामाजिक सञ्जालमा उत्रिएकी छिन्। आफ्नो इन्स्टाग्राममार्फत् उनले सरकारले आफूलाई अप्रत्यक्ष रूपमा उत्पीडन गर्न सुरू गरेको आरोप लगाएकी छिन्।