चर्चित भारतीय गायक अरिजीत सिंहका अनगिन्ती प्रशंसक छन्। आफ्नो गायकीले स्रोता लठ्ठै पार्न सक्ने उनले बलिउडलगायत भारतका अन्य भाषाामा समेत गीतहरु गाएका छन्। 'आशिकी' फिल्मको गीतबाट चर्चामा उक्लेका उनका दर्जनौं गीत भारतबाहेकका अन्य देशमा पनि लोकप्रिय छन्।
'द इन्डियन एक्सप्रेस'का अनुसार अरिजीतका खास प्रशंसकमध्ये बलिउड अभिनेता आमिर खान पनि एक हुन्। आमिर खान त्यस्ता प्रशंसकमा पर्छन् जो अरिजीतको लाइभ गायन प्रस्तुति कहिल्यै छुट्टाउँदैनन्।
आइतबार आयोजित ‘कोभिड सेलिब्रेटी एडिसन’को भर्चुअल कार्यक्रममा पनि आमिर गायक अरिजीतको ‘फ्यानबोइ’ भएका थिए। कोभिड कोष संकलनको उद्देश्यका साथ आयोजित भएको कार्यक्रममा आमिर र अरिजीतले एउटै स्क्रिन सेयर गरेका थिए।
सो कार्यक्रममा आमिरले विश्व च्याम्पियन तथा भारतीय ग्रान्डमास्टर विश्वनाथन आनन्दसँग तीस मिनेटसम्म चेस खेलेका थिए। गेमको बिचमा अरिजीत सिंह कार्यक्रमबाट निस्किन लागेका थिए तर त्यही बेला आमिरले आफूलाई मन पर्ने गीत नगाएसम्म उनी जान नपाउने बताए।
अरिजीतले कुन गीत गाउने भनेर सोध्दा आमिरले हाँस्दै भनेका थिए, ‘मलाई मनपर्ने गीत कुन हो भनेर तिमीलाई थाहा छ।’
त्यसपछि अरिजीतले आफ्नो गितार लिएर ‘ए दिल हे मुश्किल’को टाइल गीत गाए।
चर्चित कलाकार रणवीर कपुर, ऐश्वर्या राई बच्चन र अनुष्का शर्माको अभिनय रहेको यो फिल्म सन् २०१६ मा रिलिज भएको थियो। यस फिल्मको टाइल गीत अरिजीत सिंहले नै गाएका हुन्।
अरिजीतले गीत गाउनै लाग्दा आमिरले उनको तारिफ गर्न छुटाएनन्। उनले भने, ‘अरिजीत निकै राम्रा गायक हुन्। मैले उनको लाइभ गायन धेरै पटक सुनेको छु र हरेकचोटि म अचम्मित हुन्छु। उनी कतै गाउन तयार भएर बसेका छन् भने म आफ्नो सबै काम छोडेर उनको गीत सुन्न बस्छु। किनकी अरिजितलाई सुन्न पाउने मौका फेरि कहिले मिल्छ थाहा हुँदैन।’