मुम्बई अदालतले बलिउड अभिनेता सलमान खान विरूद्ध मानहानी सामग्री पोस्ट गर्न भारतीय फिल्म निर्माता तथा लेखक कमालआर (केआर) खानलाई प्रतिबन्ध लगाएको छ।
बुधबार अदालतले केआरलाई आदेश जारी गरेर सामाजिक सञ्जालमा अभिनेता खान विरूद्ध मानहानी सामग्री पोस्ट गर्न रोक लगाएको बलिउड हंगमाले लेखेको छ। सलमानले केआर विरुद्ध मुद्दा दायर गरेपछि अदालतले यो आदेश पारित गरेको हो।
पछिल्लो समय केआरले सालखानको ब्रान्ड ‘बिइङ ह्युमन’ ठगी, हेरफेर र अवैध रूपमा पैसा संकलन गर्ने काममा संलग्न रहेको आरोप लगाएका थिए। उनले पटकपटक सालमान र ‘बिइङ ह्युमन’ विरूद्ध भिडियो बनाउने र अपमानजनक ट्विट पोष्ट गरिरहे। सामाजिक सञ्जालमा अभिनेताको चित्रण खराब पार्दै गएपछि सलमानले कानुनी कदम अगाडि बढाएका हुन्।
अदालतले केआर खानले बोल्ने स्वतन्त्रताको सीमा नाघेको र तत्काल कडा कारबाही आवश्यक रहेको बताएको छ।
यो मुद्दाको अन्तिम निष्कर्ष नआएसम्म अदालतले अन्तरिम आदेश पारित गरेको छ। यसको सुनुवाइ अगस्ट २ मितिमा सारिएको छ। त्यस समय अविधिमा केआर खानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै पनि प्रकारको संचार वा पत्राचारमा संलग्न हुन प्रतिबन्ध लगाएको छ।
साथै सलमान खान, उनको व्यवसाय, वर्तमान वा भविष्यका परियोजना र हालसालै रिलिज भएको फिल्म ‘राधे’ लगायत अन्य कामको विषयमा मानहानी सामग्री नबनाउन अदालतले आदेश दिएको छ।
केआर बलिउड कलाकारविरूद्ध सामाजिक सञ्जालमा बोलेर समयसमयमा मिडियाको आर्कषणमा परिरहेका हुन्छन्। सन् २००९ मा उनले चर्चित भारतीय रियलिटी सो ‘बिग बस’मा पनि सहभागी लिएका थिए।