स्वर्गीय बलिउड अभिनेता इरफान खानका छोरा बबिल खानले फिल्म क्षेत्रमा काम गर्न औपचारिक पढाइ बीचमा छोडेका छन्।
सोमबार आफ्नो इन्स्टाग्राममा लामो पोस्ट लेखेर बबिल खानले जीवनको नयाँ सुरुवातबारे घोषणा गरेका हुन्। उनले सुटिङ क्यामरा समातेको क्यान्डिड फोटो पोस्ट गर्दै तलपट्टि क्याप्सनमा कलेजका साथीहरुलाई मेन्सन गरेका छन्। सो पोस्टमा उनले सबैका लागि कृतज्ञता व्यक्त गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
‘मेरा प्यारा साथीहरु, म तिमीहरुलाई धेरै याद गर्नेछु,’ बबिलले इन्स्टाग्राम क्याप्सनमा लेखेका छन्, ‘मुम्बईमा मेरा बढीमा तीनजना साथी छन्, तर तिमीहरु सबैले मलाई विरानो ठाँउमा पनि घरजस्तै महसुस गरायौं। म अब अभिनयमा लाग्न पढाइ छोड्दै छु। अलबिदा वेस्टमिन्स्टर युनिभर्सिटी।’
बबिलले आफ्नो पढाइ लन्डनको वेस्टमिन्स्टर युनिभर्सिटीमा सुरु गरेका थिए। उनी ‘फिल्म बिए’ विषयमा स्नातक गरिरहेका थिए। फिल्म र अभिनयमा उनको रुचि सानैदेखि थियो। अभिनयमा पूरा समय दिने सोचका साथ उनले कलेज बीचमा छोडेका हुन्।
एक वर्ष अगाडि न्युरोएन्डोक्राइन ट्युमरका कारण बुबा इरफान खानको निधनपछि बबिलको जीवनमा ठूलो प्रभाव परेको देखिन्छ। केही समयअघि उनले बुबा इरफानको सम्झानाको पुरानो ह्वाट्सएप मेसेज सेयर गरेका थिए। उनी बेलाबेला आफ्नो र बुबाको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन्।
इरफान खानले ‘स्लमडग मिलेनियर’, ‘लाइफ अफ पाइ’, ‘लन्च बक्स’, ‘हिन्दी मिडियम’, ‘लाइफ इन अ मेट्रो’ र अन्य कयौँ चर्चित फिल्ममा अभिनय गरेका छन्। उनको अभिनयको चर्चा बलिउडदेखि हलिउडसम्म छाएको छ।
छोरा बबिल पनि अब छिट्टै नेटफ्लिक्स ड्रामा ‘काला’मा डेब्यु गर्दैछन्। अनभिता दत्तको निर्देशनमा बन्न लागेको यो फिल्मको निर्माता अभिनेत्री अनुष्का शर्मा छिन्। फिल्ममा बबिलसँगै तृप्ति डिमरी र स्वस्तिक मुखर्जीको पनि अभिनय छ।