भारतीय अभिनेता रणवीर सिंह बलिउडमा बढी रुचाइने कलाकारमध्ये पर्छन्। ‘गल्ली ब्वाय’, ‘बाजिराव मस्तानी’, ‘सिम्बा’, ‘पद्मावत’, ‘राम–लीला’, ‘लुटेरा’ जस्ता फिल्ममा उत्कृष्ट अभिनय गरेका रणवीरका प्रशंसक धेरै हुनुमा कुनै शंका छैन।
हालसम्म फिल्मी स्क्रिनमा मात्र देखिएका रणवीर अब भने नेटफ्लिक्स कार्यक्रममा पनि देखिने भएका छन्। कोइमोइका अनुसार रणवीर अब बेलायती एडभेन्चर, लेखक तथा टेलिभिजन प्रस्तुतकर्ता वियर ग्रिल्ससँग एउटै पर्दामा काम गर्न लागेका हुन्।
चर्चित टिभी कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तुतकर्ता वियर ग्रिल्स ‘द जंगल किङ’ नामले परिचित छन्। हाल ‘द वाइल्ड विथ वियर ग्रिल्स’ कार्यक्रम चलाइरहेका ग्रिल्स भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि एउटै पर्दामा देखिएका थिए। उनको कार्यक्रममा सुपरस्टार रजनीकान्त र अभिनेता अक्षय कुमार पनि उपस्थित भइसकेका छन्।
अब आउन लागेको नयाँ कार्यक्रम वियर ग्रिल्सले नेटफिल्क्ससँगको सहकार्यमा बनाउन लागेका हुन्। आफ्नो साहसीमूलक कार्यक्रममा रणवीर सिंह सबैभन्दा राम्रो रोजाइ भएकोले ग्रिल्स र नेटफिल्क्सले रणवीरलाई रोजेको 'द इन्डियन एक्सप्रेस'ले जनाएको छ।
कार्यक्रमका लागि ग्रिल्सले रणवीरसँग पछिल्लो सात महिनादेखि छलफल गरिरहेका थिए। यसको सुटिङ भने यही वर्षदेखि साइबेरीयामा सुरु हुनेछ।
ठूलो बजेटको लगानीमा बनाउन लागिएको यो कार्यक्रम नेटफिल्क्सको ठूलो रिलिजमध्ये पर्ने अनुमान छ।
यससँगै रणवीर आउँदो नयाँ फिल्म ‘८३’, ‘जयसभाइ जोरदार’ र ‘सिरकस’मा मुख्य भूमिकामा देखिने छन्। उनी करण जोहरको निर्देशनमा बन्न लागेको नयाँ फिल्मको तयारीमा पनि छन्।